नेपाल सरकारले विदेशबाट खरिद गरेको युरिया मल साउनको तेश्रो हप्तापछि मात्रै आउने

                     
  नेपाल लेख   २०७९ श्रावण ५, बिहीबार १५:५४

प्रेसशिलशिला

२०७९ साउन ०५ (निजगढ)

नेपाल सरकारले विदेशबाट खरिद गरेको युरिया मल साउनको तेश्रो सातासम्म पनि नेपाल नआउने भएको छ । खडेरीको मारमा परेका किसानहरु मल पनि नपाउदा थप पिडामा परेका छन् । वीरगन्जस्थित कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयका अनुसार इजिप्ट र ओमानबाट आयात गर्न लागिएको युरिया मल अहिले पनि सामुद्रिक मार्गमै रहेका कारण साउन तेश्रो सातासम्म पनि उक्त मल नेपाल नआइपुग्ने भएको हो । कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख चन्द्र प्रसाद चौलागाईंले मल अझै कोलकाता बन्दरगाहसम्म आइन सकेको बताउनुभयो । उहाँले ठेकेदार कम्पनीका अनुसार इजिप्ट र ओमानबाट मल बोकेर कोलकाताका लागि हिँडेको पानी जहाज अझै पनि समुद्रीमार्गमै रहेको बताउनुभयो । कोलकाता बन्दरगाहबाट आएर त्यहाँबाट नेपालका लागि रेलमा लोड नभएसम्म ठ्याक्कै कुन मितिमा वीरगन्ज आइपुग्छ भन्न सकिने अवस्था नभएको उहाँले बताउनुभयो । कम्पनीले ग्लोबल टेन्डरबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरिया र २० हजार मेटन डीएपी मल आपूर्तिको ठेक्का स्विस सिंगापुर कम्पनीले पाएको छ । साउनको पहिलो सातासम्म मल कोलकाता आइपुगे पनि त्यहाँबाट नेपाल आइपुग्न कम्तीमा साउन २० गतेसम्म लाग्ने चौलागाईले बताउनुभयो  । यसैबीच बिगत लामो समयदेखि पानी नपरेपछि धान रोपाइँ गर्न नसकेका बाराका किसानहरु बुधवारबाट पानी पर्न थालेपछि हर्षित भएका छन । पानी नपरेपछि पम्पिङ्ग सेटमार्फत खर्च गरेर किसानले केही ठाउँमा धान रोपाइँ गरेका छन् । असार मसान्तभित्र धान रोपाइँ गरिसक्नु पर्ने भएपनि पानी नपरेपछि अहिलेसम्म धान रोपाइँ गर्न नसकेको महागढीमाई नगरपालिका वडा नम्बर ५ का रितलाल साहले बताउनुभयो । कृषि ज्ञान केन्द्र बाराको तथ्यांक अनुसार अहिलेसम्म बारामा ६० प्रतिशत मात्र धान रोपाइँ भएको कार्यालय प्रमुख जितेन्द्रदेव यादवले बताउनुभयो । धान रोपाइँको लागि ब्याडमा राखिएको बिउ बुढो भएको र खेतमा पानी नभएपछि रोप्न नसकेको अर्का कलैया उपमहानगरपालिका रामपुरका अर्का किसान माली भगतले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?