सगरमाथा सहकारीको २६औँ साधारणसभा : बाढीपीडित बालबालिकालाई शैक्षिक सामग्री, एसईईका उत्कृष्ट विद्यार्थी सम्मानित

                     
  नेपाल लेख   २०८३ आश्विन २९, बिहीबार २२:०१

निजगढ , निजगढ नगरपालिका–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले भोटेकोशी बाढीमा परी बेपत्ता भएका निजगढ नगरपालिका–९ निवासी परिवारका बालबालिकालाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री वितरण गरेको छ ।
सहकारी संस्थाको बिहीबार सम्पन्न २६औँ वार्षिक साधारणसभाको अवसरमा बाढीमा परी बेपत्ता भएका राज विष्ट र दिनेश परियारका छोराहरु रोमन परियार र कृष्टि विष्टलाई स्टेशनरी सामग्री प्रदान गरिएको हो । बाढीका कारण प्रभावित बालबालिकाको अध्ययनलाई निरन्तरता दिन सहयोग पु¥याउने उद्देश्यले शैक्षिक सामग्री उपलब्ध गराइएको संस्थाले जनाएको छ ।


साधारणसभाका अवसरमा शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा निजगढ नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयबाट उत्कृष्ट अङ्क हासिल गर्न सफल विद्यार्थीलाई पनि सम्मान गरिएको छ । उत्कृष्ट विद्यार्थीका रूपमा गौरीशंकर माध्यमिक विद्यालय, निजगढ–८ की प्राश्ना लामा र विद्यासागर इङ्लिस बोर्डिङ स्कुल, निजगढ–७ का रञ्जित थापालाई जनही ५ हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

त्यसैगरी, सहकारी संस्थाले विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने सदस्यलाई नगद पुरस्कार तथा सम्मानपत्र प्रदान गरेको छ । उत्कृष्ट कारोबारी सदस्यका रूपमा प्रल्हादप्रसाद रिमाल र उत्कृष्ट शेयर कारोबार सदस्यका रूपमा टपकुमारी कार्कीलाई जनही २ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको छ ।


उत्कृष्ट ऋण कारोबार सदस्यको सम्मान चण्डिका देवी कसाही र उत्कृष्ट बचत कारोबार सदस्यको सम्मान सन्तोषीकुमारी भण्डारीले प्राप्त गरेका छन् । उनीहरूलाई पनि जनही २ हजार ५ सय रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिएको संस्थाले जनाएको छ ।


कार्यक्रममा उत्कृष्ट बाल बचत सदस्य सुर्बी अधिकारीलाई २ हजार बराबरको स्टेशनरी सामान समेत हस्तान्तरण गरि सम्मान गरिएको थियो ।

यसैगरी, गौरीशंकर क्याम्पस, निजगढ–९ मा अध्ययनरत संस्थाका शेयर सदस्य माधवप्रसाद दाहालका छोरा कैशाश दाहाललाई छात्रवृत्ति प्रदान गरिएको थियो ।


सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत निजगढ नगरपालिका–५ स्थित जनजागृति आधारभूत विद्यालयका छात्रछात्राका लागि ४० हजार रुपैयाँ बराबरका आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने घोषणासमेत गरेको छ । यसले विद्यालयका विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साधारणसभामा संस्थाका निवर्तमान सञ्चालक समिति पदाधिकारीहरूलाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।
सभाले संस्थाका अध्यक्ष रुद्रप्रसाद धितालले प्रस्तुत गरेको वार्षिक प्रगति प्रतिवेदन, लेखा संयोजक राजु गौतमले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन तथा कोषाध्यक्ष सुदीप तिमल्सिनाले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।
संस्थाका अध्यक्ष रुद्रप्रसाद धितालको अध्यक्षतामा सम्पन्न साधारणसभामा संस्थापक अध्यक्ष तथा निवर्तमान अध्यक्ष भोलाप्रसाद गौतम प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था निजगढका अध्यक्ष सुदर्शनप्रसाद कोइराला लगायतले सहकारी संस्थाको महत्व, आवश्यकता र समुदायको आर्थिक तथा सामाजिक विकासमा सहकारीले निर्वाह गर्न सक्ने भूमिकाबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष हरिमैया उपाध्याय पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो, भने कार्यक्रम सञ्चालन संस्थाका सचिव भुषण अधिकारीले गर्नुभएको थियो ।
सहकारीले साधारणसभाका अवसरमा विद्यार्थीलाई प्रोत्साहन, विपद्बाट प्रभावित परिवारलाई सहयोग तथा विद्यालयलाई शैक्षिक सामग्री उपलब्ध गराउने घोषणा गर्दै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकता दिएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?