विनोद शाही मृत्यु प्रकरण : हत्यामा संलग्नलाई कारबाही गर्न अनेरास्ववियुको माग

                     
  नेपाल लेख   २०७९ जेष्ठ २२, आईतवार १५:५४

जेष्ठ २२ (धनगढी)

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षका विनोद शाहीको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ ।

अनेरास्ववियुको सुदूरपश्चिम प्रदेश कमिटीले यहाँका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहन कुमार आचार्यलाई ज्ञापन पत्र बुझाउँदै घटनाको सत्यतथ्य अनुसन्धान गरेर दोषीलाई तत्काल कारवाहीको दायरामा ल्याउन माग गरेको हो ।

स्थानीय तहको निर्वाचनमा भएको सामान्य विवादपछि १७ जेठदेखि बेपत्ता भएका शाहीको शनिबार शव भेटिएको थियो ।

पाँच दिनदेखि हराइरहेको बालकको खोजीमा प्रशासनको उदासिनताले कतै प्रहरी प्रशासनको मिलेमतोमा हत्या भएको त भन्ने आशंका पैदा भएको छ । अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटी सहसंयोजक कल्पना पाल र सचिव मनोज राईद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ । यथाशीघ्र दोषीलाई पक्राउ गरी हदैसम्मको कारवाहीका लागि नेपाल प्रहरी समक्ष जोडदार माग गर्दछौँ ।

ज्ञापन पत्र बुझ्दै डीआईजी आचार्यले घटनाबारे गम्भीर भएको भन्दै सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए ।

घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्ट नेतृत्वको टोली अछाम गएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?