चैत्र २३ (निजगढ)
विकास र पर्यटन विषयक ३ दिने पत्रकारिता तालिम मंगलवार सिमरामा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ बारा शाखाको आयोजना तथा जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक सहयोगमा संचालित विकास र पर्यटन विषयक तिनदिने पत्रकारिता तालिम सम्पन्न भएको हो । समापन कार्यक्रमका बोल्दै प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोख्रेलले पत्रकारिता क्षेत्र स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिनुभयो । पत्रकारिताको मुल मर्म समाजलाई सही दिशातर्फ लैजाने र प्रभावकारी संदेश दिने भएकोले पत्रकारहरुले सोहीअनुसार कलम चलाउनु पर्ने बताउनुभयो । सिमरास्थित होटेल न्यु संगुनमा आयोजित तालिममा स्थानीय २० जना संचारकर्मीहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा बोल्दै संविधान सभा सद्स्य शोभाकर पराजुलीले पत्रकारहरुले आफूलाई अध्ययनशील बनाउनु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बारा जिल्ला शाखाका पूर्वअध्यक्ष गुरु गौतम, नेपाल पत्रकार महासंघ मधेस प्रदेश सद्स्य लक्ष्मी खरेल, नेपाल पत्रकार महासंघ बारा शाखाका सल्लाहकार गोकुल घोरसाइने लगायतले बोल्नु भएको थियो । कार्यक्रममा तालिममा सहभागी पत्रकारहरुको तर्फबाट ईन्दिप कोइराला र सुशीला रेग्मीले पनि बोल्नुभएको थियो । नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागीहरुलाई तालिमका मुख्य प्रशिक्षक एंव नेपाल पत्रकार महासंघका केन्द्रीय पूर्वअध्यक्ष धर्मेन्द्र झाले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमको संचालन नेपाल पत्रकार महासंघ बारा शाखा सचिव अनिल गौरवले गर्नुभएको थियो ।