चैत्र १३ , आईतबार
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले ३ सय ५ जना मोतियाबिन्दुका बिरामीहरुको आँखाको निशुल्क शल्यक्रिया गरेको छ । अस्पतालले बारा, रौतहट र सर्लाही जिल्लाका विभिन्न स्थानमा आयोजना गरेको आँखा शिविरमा फेला परेका मोतियाबिन्दुका बिरामीहरुलाई निजगढमा राखेर शल्यक्रिया गरिएको हो । ३ दिनसम्म आयोजना गरिएको शल्यक्रिया शिबिरमा २० जना बिरामीको दुबै आँखाको अप्रेशन गरिएको हो । चिकित्सक गोबिन्द पौडेल र सुनिल थकाली नेतृत्वको टोलीले शल्यक्रिया गरेको हो । अस्पतालले निजगढ सहित बाराको बडहर्वा, झिटकैया, रौतहटको गुजरा र सर्लाहीको घुरकौलीमा वृहत आँखा परीक्षण शिविर आयोजना गरेको थियो । शिबिरमा २ हजार २ सय ५ जनाको आँखाको परीक्षण गरिएको अस्पतालका नेत्र सहायक दिपक सुवेदीले जानकारी दिनुभयो । अस्पतालले स्थानीय स्तरका बिभिन्न संघसंस्थाको समन्वयमा गत चैत्र ६ गतेदेखि १२ गतेसम्म आँखा परीक्षण शिविर संचालन गरेको थियो ।