चैत्र १ मंगलवार ,
निजगढ वडा नं.४ स्थित जनकल्याण आधारभुत बिद्यालयमा अध्ययरत गदै आईरहेका बालबालिकाहरुलाई सोमबार बिहान ११ः०० बजे बिद्यालयमा माहुरी पसेर अचानक टोक्न थाले पछि दर्जनौभन्दा बढी बिद्यार्थी गम्भीर घाईते बनेका छन् ।
कक्षा कोठामा पढी रहेका विद्यार्थी, एवम् शिक्षा दिई रहेका शिक्षक र कर्मचारी समेत गरी १ सय ५० जनाभन्दा बढीलाई टोकेको र २५ जना विद्यार्थी गम्भीर घाइते बनेको विद्यालयका प्रधानाध्यापक मधुसुधन अधिकारीले बताए । घाईते बिद्यार्थीहरुलाई निजगढ सामुदायिक अस्पताल प्रसुती गृहमा लगिएको थियो । भने सुधार भएका बिद्यार्थीहरुलाई अभिभावकहरुले आफ्नो घर लगेका छन् र गम्भीर घाइते ५ जनाको भने अहिले पनि अस्पतालमा राखेर उपचार हुदै गरेको प्रधानाध्यापक अधिकारीले बताउनुभयो । नर्सरी कक्षामा भर्ना गरिएका ३ देखि ५ वर्षसम्मका साना बालबालिका सबैभन्दा बढी घाइते बनेका छन ।
शौच गर्न बाहिर चौरमा निस्किएको बेला नर्सरी कक्षाकी एकजना छात्रालाई मौरीको घारले बिहान करिव ११ बजे टोक्न सुरु गरेको थियो । ती छात्रा रुदै भित्र पसेपछि पिछा गर्दै आएका मौरीले सो कक्षा कोठामा रहेका र अन्य कक्षाका विद्यार्थी र शिक्षकलाई पनि टोकेको हो । कक्षा कोठामा रहेका साना विद्यार्थीलाई बचाउन जाने क्रममा आफूलाई पनि मौरीले टोकेको विद्यालयकी शिक्षिका हेमकुमारी खड्काले बताउनुभयो । जंगल छेउमा रहेको सो विद्यालयमा नजिकै रुखमा बसेको मौरी बिच्किएर विद्यार्थीलाई टोकेको हुन सक्ने शिक्षकहरुले बताएका छन ।
‘काग वा कुनै पंक्षीले माहुरीको गोलोमा ठुङ्गेको हुुनुपर्छ, प्रधानाध्यापक अधिकारीले भन्नुभयो, पंक्षीलाई लखेटदै आएको माहुरीको बथानले विद्यार्थीमाथि आक्रमण गरेको अनुमान छ ।’ तर कहाँबाट कसरी आयो भन्ने बारेमा अझै यकिन भइनसकेको उहाँ बताउनुहुन्छ । ठूलो संख्यामा आएका मौरीले विद्यार्थीलाई अचानक टोक्न थालेपछि विद्यालयमा केहीबेर भागदैड मच्चिएको थियो । घरघरबाट आएका अभिभावक र शिक्षकले उद्धार गरेर विद्यार्थीहरुलाई अस्पताल पुर्याएका हुन । निजगढ नगरपलिकाकी उपप्रमुख लिलादेवी लामिछाने खनाल घाइते विद्यार्थीको अवस्था बारे बुझ्न हिजो दिउसो अस्पतालमा पुग्नु भएको थियो ।
मौरीको टोकाईबाट अधिकांश शिक्षक र विद्यार्थीहरुलाई घाइते भएपछि आज विद्यालयले एक सुचना जारी गर्दै विद्यालयको पठनपाठन पनि गरिदिएको छ ।
घाईतेको उपचार वडाले गर्ने :-
मौरीको टोकाईबाट घाइते भएका बिद्यार्थी र शिक्षकहरुको सम्पुर्ण खर्च वडा नं.४ को वडा कार्यालयले गर्ने अध्यक्ष जयराम कुँवरले बताउनुभयो ।