२०७९ साउन २० (निजगढ)
प्रेसशिलशिला खबर
निजगढ नगरपालिकका नगर प्रमुख सुरत पुरीले वडा नम्बर ४ मोहोरी स्थित गणेशमान पार्कको आज शुक्रवार स्थलगत निरीक्षण गर्नुभएको छ । अज्ञात समुहले गणेशमान सिंहको सालिक वरिपरि रहेको स्टील रेलिङ, मार्बल, सिमेन्टको कुर्सी तोडफोड गरेपछि नगर प्रमुख पुरी सहित उपप्रमुख सोममाया थिङ्गको टोलीले सो क्षेत्रको निरीक्षण गर्नुभएको थियो । निरीक्षणपछि नगरप्रमुख पुरीले दोषि पत्ता लगाएर कारवाही गर्न सुरक्षाकर्मीहरुलाई निर्देशन दिनुभएको छ । अज्ञात व्यक्तिहरुले बुधवार राति पार्कमा रहेको गणेशमान सिंहको सालिक वरिपरिको स्टीलको रेलिङ र सिमेन्टको कुर्सी भाच्नुको साथै सालिक मुन्तिर बिछ्याइएको मार्बल समेत फुटाएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । गणेशमान श्रेष्ठको पूराकदको सालिकमा भने कुनै क्षति पुर्याइएको छैन । पार्कमा घुम्न गएका स्थानीयले तोडफोड भएको देखेपछि हिजो बिहीवार बिहान प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी कार्यालय निजगढको टोली पनि हिजो बिहीवार नै घटनास्थलको निरीक्षण गरेर फर्किएको प्रहरी सहायक निरीक्षक पेसल कुमार बानियाले जानकारी दिनुभयो । उहाँले तोडफोडमा संलग्न व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाहीको पार्क व्यवस्थापन समितिका अध्यक्ष सागर गौतमले प्रहरीमा निवेदन दिएको र आवश्यक अनुसन्धान भइरहेको पनि बताउनुभयो । निजगढ नगरपालिका कार्यालयको सहयोगमा निर्माण भएको सो पार्क निजगढको प्रमुख पर्यटकीय गन्त्यको रुपमा रहेको छ । मोहोरी पार्कमा गणेशमानको सालिकसहित पूर्वाधार निर्माणको कार्य हुदै आएको छ ।