मधेश प्रदेश मैं एक मात्र उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रममा महिलाहरुको आकर्षण बढ्दो

                     
  नेपाल लेख   २०७९ असार ८, बुधबार १५:१९

२०७९ असार ०८ (निजगढ)

निजगढ नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा हरेक महिनाको पहिलो आइतवार हुँदै आएको उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रममा महिलाहरुको स्वास्थ्य प्रवद्र्धन गर्न प्रभावकारी देखिएको छ ।

निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा नियमितरूपमा सञ्चालन हुँदै आएको ‘उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम’ अन्तर्गत हुँदै आएको एकीकृत प्रजनन स्वास्थ्य सेवा क्लिनिकमा महिलाहरुले आफ्ना समस्या खुलेर महिला डाक्टरसँग राख्न पाउने भएपछि क्लिनिकमा महिलाहरुको आकर्षण बढदै गएको हो ।

नारायणी अस्पताल वीरगन्जकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. मन्जु रायद्वारा निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा हुँदै आएको क्लिनिक अन्तर्गत आइतवार मात्र ६१ जना महिलाहरुले निःशुल्क परीक्षण र उपचार गराएका छन् । जुन संख्या गत महिनाहरुको भन्दा बढी हो ।

अघिल्ला महिनाहरुमा बढीमा ५० जनासम्म महिलाहरुले परीक्षण र उपचार गराउँदै आएका थिए । क्लिनिकमा महिलाहरुको भिआईए परीक्षण २९ जना, आङ खसेका महिलाहरुको रिङ प्रेसरी लगाउने कार्य ४ जना र महिलाहरुको प्रजनन लगायत अन्य समस्याहरुको २८ जना गरी कुल ६१ जना महिलाहरुको निःशुल्क परीक्षणका साथै उपचार पनि गरिएको निजगढ नगरपालिका स्वास्थ्य शाखाकी सिअनमी रामप्यारी तिमल्सिनाले बताउनुभयो ।

१० वर्ष वा सो भन्दामाथि उमेर समूहका सम्पूर्ण महिलाहरुको शिविरमा नियमित पाठेघर परीक्षण, पाठेघरको मुखको क्यान्सर जाँच, भिआईए परीक्षण, पाठेघर आङ्ग खसेका महिलाहरुको रिङ प्रेसरी लगाउने, स्तन क्यान्सर बाँझोपन, महिनावारी गडबडी, यौंन सम्बन्धि रोगहरु र महिलाहरुको प्रजनन स्वास्थ्य सम्बन्धि सम्पुर्ण समस्याको परीक्षण र उपचार हुँदै आएको तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार यस आर्थिक वर्षमा मात्र करिब ६५० भन्दा बढी महिलाले प्रत्यक्ष परीक्षण र उपचार गराएका छन् ।

उपचार र परीक्षणमा महिला डाक्टरको व्यवस्था गरिएको र स्थानीय स्तरमैं उपचार र परीक्षण गरिने हुँदा महिलाहरुले आफ्ना समस्या खुलेर राख्न पाएका कारण पनि बिरामीहरुको चाप बढदै गएको उहाँले बताउनुभयो । गाँउघरमा महिलाहरुले आफ्नों प्रजनन, महिनावारी, यौंन, पाठेघर लगायतका समस्या लुकाउने र उपचारमा नआउने गरेका छन । क्लिनिकपश्चात महिलाहरु उपचारमा आउन थालेको निजगढ नगरपालिकाकी निवर्तमान उपप्रमुख लिलादेवी लामिछानेले बताउनुभयो । मधेश प्रदेश मैं महिलाहरुको समस्यामा यसरी कहीं पनि निःशुल्क उपचार र परीक्षण नभए पनि निजगढमा शुरु भएर कार्यक्रम लोकप्रिय हुँदा आफुलाई खुशी लागेको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?