बैशाख १४ (काठमाण्डौँ)
जाजरकोटमा चोरीको मोटरसाईकल सहित वडाध्यक्ष पक्राउ परेका छन् । नलगाड नगरपालिका–१ का वडाध्यक्ष हिरालाल पुन पक्राउ परेका हुन । चोरीको मोटरसाइकल सहित अध्यक्ष पुनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार ४ वैशाखमा जाजरकोट नलगाड १ कल्पत स्थित सडकमा सवारीधनी कागजात नभएको लु ५९प ०२ १७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएको प्रहरीले मोटरसाइकल बरामद गरेको थियो । प्रहरी अनुसन्धानका क्रममा उक्त मोटरसाइकल नलगाड नगरपालिका १ का वडाध्यक्ष हिरालाल पुनले चलाइरहेको खुलेको थियो । निजलाई खोजतलासको क्रममा ६ वैशाखमा प्रहरी टोलीले फेला पारेको थियो । जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी पुनमाथि थप अनुसन्धान भई रहेको छ ।
वडाध्यक्ष पुनले लामो समयदेखि उक्त मोटरसाइकल चलाउँदै आएका थिए । तर, उनीसँग मोटरसाइकलका कुनै कागजपत्र थिएनन् । वडाध्यक्ष भएकै कारण प्रहरीले पनि खासै केरकार गरेको थिएन । उनी अहिले प्रहरी हिरासतमा छन् । वडाध्यक्षमा फेरि दोहोरिने इच्छा राखेका उनलाई चोरी काण्डले धक्का लागेको छ ।