बैशाख ०३ (सिमरा)
हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अमलेखगञ्जमा तेस्रो सेवा केन्द्र संचालनमा ल्याएको छ । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ र २२ का सेवाग्राहीलाई लक्षित गरि हातेमालो साकोसले सेवा केन्द्र संचालनमा ल्याएको हो ।
सेवा केन्द्रको शनिवार मधेस प्रदेश सभा सदस्य सीता गुरुङले उद्घाटन गर्नुभएको हो । गुरुङ हातेमालो सहकारीको पूर्वउपाध्यक्ष समेत हुनुहुन्छ । उद्घाटन कार्यक्रममा बोल्दै गुरुङले हातेमालो सहकारीको कार्य क्षेत्र फराकिलो र व्यवस्थित हुदै गएकोमा खुशी व्यक्त गर्नुभयो ।
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का अध्यक्ष कृष्णबहादुर ठकुरी, अनमोल बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक रोहित घिसिङलगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा पूर्वगाविस उपाध्यक्ष गोकुल लम्सालसहित विभिन्न संघसंस्थाका प्रतिनिधि, हातेमालो सहकारीका पदाधिकारी, सदस्य, कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।
हातेमालो सहकारीका अध्यक्ष यज्ञ बहादुर आलेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन व्यवस्थापक महेश ढुंगेलले गर्नुभएको थियो । कार्यक्रममा लेखा समिति सदस्य सुशिला आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
सिमरामा मुख्य कार्यालय रहेको हातेमालो सहकारीले यस अघि डुमरवाना र जीतपुरमा आफ्नो सेवा केन्द्र संचालन गर्दै आएको थियो । देशकै उत्कृष्ट सहकारीको रुपमा चिनिएको हातेमालो सहकारीमा हाल चार हजारभन्दा बढी शेयर सदस्य छन् ।