निजगढ, निजगढमा आयोजित दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको उपाधि वडा नं.७ ले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा वडा नं.१३ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नं.७ च्याम्पियन बनेको हो।
निर्धारित समयको दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै वडा नं.७ का जर्सी नम्बर ७ का प्रिन्स पुलामीले गरेको आकर्षक गोल नै खेलको निर्णायक बन्यो। दुबै टिमबीच निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल भएको थियो।
फाइनल खेलका म्यान अफ द म्याच प्रिन्स पुलामी घोषित भए। प्रतियोगिताका उत्कृष्ट खेलाडी वडा नं.७ का जर्सी नम्बर १० का राम अर्याल बने भने उत्कृष्ट गोलरक्षक जेम्स थापा मगर र उत्कृष्ट डिफेन्डर वडा नं.१३ का जर्सी नम्बर ६ का समिर गोङ्गवा घोषित भए। उनीहरुलाई प्रमुख अतिथि निजगढ नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ, स्वर्गीय विकल रेग्मीकी आमा कमला रेग्मी तथा शिक्षा शाखा अधिकृत उत्तम लामिछानेले जनही नगद १ हजार ५ सय रुपैयाँसहित ट्रफी प्रदान गरे।
प्रतियोगितामा विजेता टिमले नगद ८० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र हात पार्यो।
१६ वर्षमुनिका खेलाडी समेटिएको उक्त प्रतियोगितामा निजगढ नगरका १३ वटै वडाबाट एक–एक टिम सहभागी भएका थिए। कुल १३ टिमबीच १२ खेल सम्पन्न भएका थिए।
फाइनलअघि निजगढ–८ स्थित हिमाल युवा क्लब र सिगौलाबीच मैत्रीपूर्ण महिला फुटबल खेलसमेत आयोजना गरिएको थियो। उक्त खेलमा हिमाल युवा क्लबकी जर्सी नम्बर १३ की कविता माझीले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएकी थिइन्।
प्रतियोगिताभर मुख्य रेफ्री रियाजुल इस्लाम तथा सहायक रेफ्रीहरू लिलाम्बर चौधरी, राजु चौधरी र नीलकमल चौधरीले खेल सञ्चालन गरेका थिए। कार्यक्रमको सभाध्यक्षता निजगढ फुटबल क्लबका कार्यवाहक अध्यक्ष दिनेश श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिव नारायण लामाले गरेका थिए।
निजगढ नगर खेलकुद विकास समिति आयोजक र निजगढ फुटबल क्लबको व्यवस्थापनमा करिब ५ लाख रुपैयाँ लागतमा प्रतियोगिता सम्पन्न भएको हो।
















