निजगढ नगरपालिकाको सहयोगमा ३ दिने योग शिविर सञ्चालन

                     
  नेपाल लेख   २०८२ फाल्गुन २३, शनिबार ०९:१२

विशाल तिमल्सिना, निजगढ, बारा 

निजगढ नगरपालिकाको सहयोगमा ३ दिने योग शिविर सञ्चालन गरिएको छ। निजगढ नगरपालिका–६ स्थित श्री कृष्ण प्रणामी मन्दिर सडकटोलको नयाँ भवनको प्राङ्गणमा उक्त योग शिविर आयोजना गरिएको हो ।

पतञ्जलि योग समिति निजगढका संस्थापक एकबहादुर श्रेष्ठको पहलमा आयोजना गरिएको शिविर २०८२ साल फाल्गुन २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने जनाइएको छ। शिविरमा योग प्रशिक्षक देव कृपा ज्यूले सहभागीहरुलाई योग अभ्यास तथा योग साधनाका विभिन्न विधिहरूबारे जानकारी गराउनुभएको थियो।

शिविरको पहिलो दिन नै जिल्ला अध्यक्ष सुरेश शाह कानु, जिल्ला उपाध्यक्ष ओमप्रकाश यादव, महिला उपाध्यक्ष शर्मिला बुढाथोकी, संस्थापक एकबहादुर श्रेष्ठ लगायत ७८ जना सदस्यहरूको उपस्थिति रहेको थियो ।

योग शिविरमा विशेषगरी महिलाहरूको सहभागिता उल्लेखनीय रहेको संस्थापक श्रेष्ठले जानकारी दिनुभयो। मानव जीवनलाई स्वस्थ र सन्तुलित राख्न योग तथा नियमित व्यायाम अत्यन्त आवश्यक रहेको उहाँको भनाइ छ।

शिविरले स्थानीय समुदायमा स्वास्थ्यप्रति सचेतना बढाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?