बारा,सरकारी कार्यालयको सेवा प्रवाहमा सरकारले गरेको पछिल्लो निर्णयले सर्वसाधारणलाई सास्ती भएको छ । खासगरी मालपोत र नापी कार्यालयमा सेवाग्राहीको लागि सहयोगी भूमिका निर्वाहा गर्दैआएका लेखापढी व्यवसायी (लेखनदास) हरुलाई बिचौलियाभन्दै कार्यालय प्रवेशमा रोक लगाइएपछि सेवा लिन पुगेका नागरिकले दुःख बेहोर्नु परेको मालपोत कार्यालय सिमरामा भेटिएका सेवाग्राहीले गुनासो गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष एवं पालिकाका प्रवक्ता ईश्वर के।सी। ले सरकारी नीतिले सर्वसाधारणको सास्ति थप बताउनुभो । उहाँ कर्जा लिने प्रयोजनका लागि धितो रोक्का गराउन कार्यालयमा पुग्नुभएका वडा अध्यक्ष केसीले आफू दुई घण्टादेखि उभिएर बस्नुपरेको र कर्मचारीहरुले पनि सेवाग्राही मैत्री व्यवहार नगरेको दुःखेसो व्यक्त गर्नुभयो । सेवाग्राहीलाई एउटा सरकारी कार्यालयमा मानवीय रुपमा सेवा दिन समेत कन्जुस्याँई गरिएको उहाँको भनाई थियो । मालपोत कार्यालयलाई पालिकाको एउटा ईकाईका रुपमा पठाएर सेवामा सहजीकरण गर्नसके केही हदसम्म समस्याको समाधान निस्किने उहाँको भनाई छ । यस्तै सिमराका अर्का स्थानीय धर्म श्रेष्ठले सरकारी कार्यालयमा सेवा लिन जाने सर्वसाधारणको सास्ति हट्नुको साटो झन बढेको सुनाउनुभयो । ‘पहिला लेखनदासलाई कामको जिम्मा दिएर सजिलै काम सकेर घर फर्किन पाइन्थ्यो, उहाँले भन्नुभयो, अहिले लेखनदाससँग भू–सेवासहित आवश्यक लेखापढी गरेर आफैं दौडिनु परेको छ ।’ भू–सेवा सहित सेवाग्राहीका कामको सहजीकरण कार्यालयभित्रैका कर्मचारीले गरिदिने व्यवस्था भए सहज हुने उहाँको भनाई छ । तर त्यस्तो व्यवस्था नहुँदा सहयोग गर्नेलाई बिचौलियाको ट्याँग लगाएर प्रवेश निशेध गरिएकाले समस्या आएको उहाँको भनाई छ । यसैगरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ जैतापुरकी बेलीमाया गोलेले पनि मालपोतको सेवाले दुःख पाएको बताउनुभयो । उहाँ स्थानीय सहकारीमा कर्जा लिँदा रोक्का रहेको जमिन फुकुवा गरी पुनः रोक्का गर्न सिमरा मालपोत पुग्नुभएको थियो । तर मालपोतको मोठ शाखाका कर्मचारीले लिखत फट्टा गर्न कलैया जानु भनेपछि उहाँ निराश देखिनुभएको थियो । २०७५ सालमा मालपोत सिमरा स्थापना भएपछि मनहर्वा, निजगढ, जीतपुर, सिमरा, फत्तेपुर, डुमरवाना, अमलेखगंज, रतनपुरलगायत साविकका गाविसभित्रका जमिनको सबै काम सिमरा मालपोटबाट हुँदै आएको छ । यद्यपि धितो फुकुवाका लागि एउटै कार्यालयको सेवा लिन अन्यत्र पठाउने कार्यले सेवाग्राहीले हैरानी बेहोर्नु परेको रेडियो निजगढ १०७.२ मेगाहर्जका मनहर्वाबाट सहकर्मी पुष्पराज खतिवडाले पठाएको समाचारमा उल्लेख छ ।
















