निजगढ :- निजगढ खानेपानी उपभोक्ता समितिले निजगढ–७ स्थित भमरामा जडान गरेको डिप बोरिङ्गको विद्युत ट्रान्समिटर चोरी भएको छ। बिहीबार राति अज्ञात व्यक्तिहरूको समूहले १०० केभी विद्युत लाइनमा जडान गरिएको ट्रान्समिटर पोलबाटै खोलेर भित्र रहेको तामाको तार र तेल निकालेर लगेका हुन् ।
समितिका अध्यक्ष सुदर्शन कोइरालाका अनुसार करिब एक वर्षअघि मात्रै बृहत् खानेपानी आयोजनाअन्तर्गत जडान गरिएको उक्त ट्रान्समिटरको मूल्य करिब ७ लाख रुपैयाँ बराबरको रहेको छ। “पोलबाटै ट्रान्समिटर खोलेर भित्रको पितलको तार र तेल चोरी गरिएको छ,” कोइरालाले भन्नुभयो ।
खानेपानी तथा सरसफाइ समितिका सदस्य सन्त बदाहुर सुनार शुक्रबार बिहान बोरिङ्ग सञ्चालन गर्न पुगेपछि ट्रान्समिटर चोरी भएको थाहा पाइएको अध्यक्ष कोइरालाले जानकारी दिनुभयो। घटनापछि स्थानीयवासी तथा उपभोक्तामा चिन्ता बढेको छ ।
उक्त डिप बोरिङ्गबाट निजगढ–६ स्थित योजना गणेश मन्दिर क्षेत्र र वडा नं.७ को पूर्वी भेगमा खानेपानी वितरण हुँदै आएको थियो। ट्रान्समिटर चोरी भएसँगै ती क्षेत्रमा खानेपानी आपूर्तिमा समस्या उत्पन्न हुने भएको छ । समितिले घटनाबारे सम्बन्धित निकायमा जानकारी गराइसकेको जनाएको छ । सार्वजनिक सम्पत्तिमा गरिएको यस्तो तोडफोड तथा चोरीप्रति स्थानीयले गम्भीर आपत्ति जनाउँदै दोषीको पहिचान गरी कडा कारबाही गर्न माग गरेका छन् ।
















