छिमेक लघुवित्तको १३औँ ग्राहक सदस्य गुनासो सुनुवाइ तथा इकाइ भेला सम्पन्न

                     
  नेपाल लेख   २०८२ फाल्गुन १५, शुक्रबार २१:४५

निजगढ :- छिमेक लघुवित्त वित्तीय संस्थाको १३औँ ग्राहक सदस्य गुनासो सुनुवाइ तथा इकाइ भेला आज सम्पन्न भएको छ। कार्यक्रम उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो ।भेलामा शाखाअन्तर्गत उत्कृष्ट कार्य सम्पादन गर्ने १० वटा समूहलाई नगदसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी १० जना विशिष्ट बचतकर्तालाई सम्मान गरिएको छ भने तीन जना सफल व्यवसायीलाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत १० जना विपन्न परिवारका छोरीहरूलाई अध्ययनका लागि छात्रवृत्ति वितरण गरेको छ। यसैक्रममा SEE मा उत्कृष्ट अंक ल्याई उत्तीर्ण भएका निजगढ–६ का समिर फुयाललाई रु.५ हजार २५० बराबरको छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा विभागीय प्रमुख बसन्त कुमार सिंह, केन्द्रीय कार्यालयका प्रतिनिधि सन्दिप पाठक, मधेश प्रदेश प्रमुख लालबाबु यादव, आईटी शाखाका सरोज यादव, अनुगमन प्रमुख टेकराज पन्त, ज्ञानेश्वर सुनार तथा शाखा प्रमुख रामरतनलगायतको उपस्थिति रहेको थियो ।

करिब १५० जना सदस्य तथा अभिभावकहरूको सहभागिता रहेको कार्यक्रममा संस्थाका पदाधिकारीहरूले सेवाग्राहीका गुनासा तथा सुझाव सुनी समाधानका उपायबारे छलफल गरेका थिए। संस्थाले सदस्यको विश्वास र सहकार्य नै आफ्नो सफलताको आधार भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?