निजगढ : दोस्रो विकल रेग्मी स्मृति जुनियर फुटबल प्रतियोगिताको उपाधिका लागि निजगढ नगरपालिका वडा नम्बर ७ र १३ को टोलीबीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार शहिद हिरालाल रंगशाला मा सम्पन्न सेमिफाइनल खेलहरूमा रोमाञ्चक जित निकाल्दै दुबै टोली फाइनलमा प्रवेश गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा वडा नम्बर ७ ले वडा नम्बर ९ लाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गर्यो। निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। तनावपूर्ण क्षणमा वडा नम्बर ७ का खेलाडीहरूले संयमता कायम राख्दै जित सुनिश्चित गरेका थिए ।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका वडा नम्बर ७ का राम अर्याल ‘म्यान अफ दि म्याच’ घोषित भए। उनलाई स्वर्गीय विकल रेग्मीकी आमा कमला रेग्मी तथा निजगढ नगरपालिका–७ का वडाध्यक्ष टेकबहादुर लामालगायतले संयुक्त रूपमा रेग्मी ट्रफी प्रदान गरे ।
त्यसैगरी दोस्रो सेमिफाइनलमा वडा नम्बर १३ ले वडा नम्बर १० लाई सडन डेथमा ६–५ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा स्थान सुरक्षित गर्यो। निर्धारित समयमा गोलरहित बराबरी भएपछि खेलको निर्णय सडन डेथमार्फत गरिएको थियो। अत्यन्त प्रतिस्पर्धात्मक खेलमा वडा नम्बर १३ का खेलाडीहरूले धैर्यता र सटीक प्रहारका साथ जित हात पारे ।
सो खेलका ‘म्यान अफ दि म्याच’ वडा नम्बर १३ का अनिश गोङ्गवा घोषित भए। उनलाई पनि कमला रेग्मीलगायतले ट्रफी प्रदान गरेका थिए । दुवै खेलमा लिलाम्बर चौधरी र रियाजुल स्लामले मुख्य रेफ्रीको भूमिका निर्वाह गरेका थिए भने सहायक रेफ्रीमा राजु चौधरी र फोर्थ अफिसियलमा नीलकमल चौधरी रहेका थिए ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिवार १६ गते अपराह्न ३ बजेदेखि सञ्चालन हुने आयोजकले जनाएको छ। फाइनलअघि दिउँसो २ बजे महिला फुटबल टोलीहरूबीच मैत्रीपूर्ण खेल आयोजना गरिने कार्यक्रम रहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३५ हजार रुपैयाँसहित ट्रफी हात पार्नेछ। स्थानीयस्तरमा युवा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले निजगढको खेलकुद गतिविधिमा उत्साह थपेको छ ।
















