बारा :- बारा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अच्युत प्रसाद मैनालीले आज बिहान निजगढबाट आफ्नो चुनावी घरदैलो अभियानको औपचारिक शुभारम्भ गर्नुभएको छ।
मैनालीले निजगढ नगरपालिका–४ स्थित सहिद हिरालाल गौतमको सालिकमा माल्यार्पण गर्दै सहिदप्रति श्रद्धाञ्जली अर्पण गरी अभियानको सुरुवात गर्नुभएको हो।
श्रद्धाञ्जली कार्यक्रमपछि उहाँले निजगढ नगरपालिका वडा नं. १ को सिंगौल नमुना बस्ती चोकबाट घरदैलो कार्यक्रम सुरु गर्नुभयो।
आजकै दिन उम्मेदवार मैनालीले निजगढ वडा नं.२ र ३ का विभिन्न बस्तीमा पुगेर घरदैलो अभियान सञ्चालन गर्नुभएको थियो।
अभियानका क्रममा उहाँले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका आगामी नीति, विकासका एजेन्डा तथा आफ्ना प्रतिबद्धताबारे जानकारी गराउनुभएको थियो।
सुदर्शन प्रसाद कोइराला, नेकपा एमाले निजगढ निर्वाचन परिचालन कमिटीका संयोजकका अनुसार घरदैलो कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।
एमालेले भोलि पनि निजगढ नगरपालिकामा घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ। संयोजक कोइरालाका अनुसार भोलि वडा नं। ७ बाट घरदैलो कार्यक्रम सुरु गरिनेछ।
















