निजगढ, बारा — आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट बारा निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार अच्युत प्रसाद मैनाली ले घरदैलो अभियान सुरु गरेका छन्।
निजगढ नगरपालिका–४ स्थित सहिद हिरालाल गौतम को सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली अर्पण गर्दै उनले अभियानको औपचारिक शुभारम्भ गरेका हुन्। सहिदप्रति सम्मान प्रकट गरेपछि मैनाली बिहान ८:०० बजेदेखि वडा नं. १ अन्तर्गत सिङ्गोल नमुना बस्ती चोकबाट मतदातासँग प्रत्यक्ष भेटघाटमा निस्किएका थिए।
घरदैलोका क्रममा उनले स्थानीय बासिन्दासँग समसामयिक विषयमा संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र विकासका प्राथमिकताबारे जानकारी गराएका छन्। मतदाताका गुनासा तथा सुझाव संकलन गर्दै जनचासोका विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।
एमाले निजगढ निर्वाचन प्रचारप्रसार कमिटीका संयोजक सुदिप तिमल्सिनाका अनुसार अभियानलाई टोल–टोलसम्म पुर्याएर जनस्तरमा सशक्त उपस्थिति जनाउने लक्ष्य रहेको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता तथा स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता देखिएको जनाइएको छ।
सहिदको सालिकबाट सुरु गरिएको यो अभियानले निजगढ क्षेत्रमा चुनावी माहोललाई थप सक्रिय बनाएको सहभागीहरूको भनाइ छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार मैनालीले आफ्नो अभियानलाई थप तीव्र बनाउने तयारी गरेका छन्।
















