बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलमा सबै उडानहरू प्रभावित

                     
  नेपाल लेख   २०८१ पुष २४, बुधबार २१:४२

बारा, दुई दिनदेखि लगातार लागेको बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलबाट हुने नियमित उडानहरू प्रभावित भएका छन् । खराब मौसम र कम भिजिबिलिटीका कारण काठमाडौंका लागि हुने दैनिक उडानहरू मंगलवार पनि सञ्चालन हुन सकेका छैनन् । सिमरा विमानस्थलका प्रमुख विष्णुप्रसाद अधिकारीका अनुसार दुई दिनदेखि मौसमका कारण नियमित उडानहरू प्रभावित भएका हुन् । उहाँले मौसमका कारण सबै उडानहरू स्थगित भएको जानकारी दिनुभयो । अन्य कारणले भन्दा पनि पुस र माघ महिनामा देखिने मौसम सम्बन्धि समस्याले उडान प्रभावित हुदैआएको हो ।

विमानस्थल कार्यालयका अनुसार सिमरा–काठमाडौं उडानको लागि कम्तीमा २ हजार ३ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, हाल भिजिबिलिटी निकै कम भएकाले उडानहरू प्रभावित भएका छन । सिमरा विमानस्थलबाट बुद्ध एयरले दैनिक ७ उडान र यति एयरले २ उडान भर्दै आएका थिए । तर, हुस्सुका कारण यी सबै उडानहरू रोकिएका छन् । बारा, पर्सा, रौतहट, मकवानपुरलगायतका जिल्लाका साथै भारतबाट दैनिक १ हजारदेखि १ हजार ५ सय यात्रुहरू सिमरा–काठमाडौं आउजाउ गर्ने गर्छन् । मधेस प्रदेशमा हुने राजनीतिक कार्यक्रममा सहभागी दलका नेता, कार्यकर्ता, भारतीय पर्यटक, उद्योगी, व्यवसायी र मध्यम वर्गीय यात्रुहरूले यो विमानस्थलको प्रयोग गर्दै आएका छन् ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?