
बारा,बाक्लो हुस्सु र शीतलहर बढेपछि बारा, पर्सा र रौतहटका विभिन्न स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि स्थानीय तहले विद्यार्थीको स्वास्थ्यलाई ध्यान दिँदै बर्षे बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिएका हुन् । निजगढ नगरपालिकाले हिजो एक सूचना जारी गरेर मातहतका सम्पूर्ण विद्यालयहरुमा जाडो बिदा दिएको छ । अत्यधिक चिसोका कारण विद्यालयमा नियमित पठनपाठन कार्य असहज भएकाले विद्यालयमा बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले जानकारी दिनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत बर्तौलाका अनुसार वर्षे बिदामा मिलान हुने गरी पुष २६ गतेसम्म विद्यालयमा पठनपाठन बन्द गर्ने निर्णय भएको हो । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका र कलैया उपमहानगरपालिकाले पनि पुष २४ र २५ गतेका लागि सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । कलैया उपमहानगरपालिकाका शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख राजिवकुमार यादव र जीतपुरसिमराका शिक्षा अधिकृत हरिशप्रसाद भट्टले सूचना जारी गरेर चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै विद्यालयमा बिदा दिएको जनाएका छन ।
यसैगरी यस्तै महागढीमाई नगरपालिकाले पुष २६ गतेसम्म बिदा थप गरेको छ । पुष २३ गतेसम्म यसअघि नै बिदा घोषणा गरेको नगरपालिकाले २६ गतेसम्म बिदा थप गरेको हो ।बाराको परवानीपुर गाँउपालिका, सुवर्ण गाउँपालिका र करैयामाई गाउँपालिकाले पनि पुष २६ गतेसम्म जाडो बिदा दिएका छन् । उता, पर्साको ठोरी गाउँपालिकामा भने बढ्दो चिसो र शीतलहरका कारण सबै विद्यालयलाई १० दिनसम्म बिदा दिने निर्णय गरिएको छ। पुस २४ गतेदेखि माघ ४ गतेसम्म पालिकाकाभित्रका विद्यालयहरू बन्द रहनेछन।गाउँपालिकाका शिक्षा शाखाले दिएको जानकारीअनुसार, चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा समस्या पर्न सक्ने भएकाले जाडो बिदा दिने निर्णय गरिएको हो। ठोरी गाउँपालिकाका २१ सामुदायिक विद्यालयहरू माघ ६ गतेदेखि पुनः सञ्चालनमा आउनेछन्।
त्यसैगरी पछिल्लो एक सातादेखि चलेको शीतलहरसँगै चिसो बढेपछि रौतहटका विद्यालयहरू धमाधम बन्द हुन थालेका छन्। केही दिनदेखि लगातार हुस्सु र कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरूलाई पठन पाठनमा समस्या भएको भन्दै यहाँका अधिकांश पालिकाहरूले छुट्टाछुट्टै सूचना प्रकाशित गरी विद्यालय बन्द गरिएको हो । रौतहटका सामुदायिक तथा निजी विद्यालयमा हिजोदेखि शुक्रवारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला सदरमुकाम गौर, इशनाथ, फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै चिसोको कारण तीन दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् । चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वार्षिक बिदाबाट कट्टा हुने गरी बिदा दिइएको सूचनामा उल्लेख गरिएको छ । जिल्लाका १८ स्थानीय तह मध्ये अधिकांशले विद्यालय बन्दको सूचना जारी गरिसकेका छन्। पछिल्लो एक सातादेखि मधेस प्रदेशमा शीतलहरको कारण अत्यधिक चिसो बढेर जनजीवन प्रभावित भएको छ ।