
निजगढ,निजगढ नगर उद्योग वाणिज्य संघले आगामी माघ ११ देखि २२ गतेसम्म प्रथम निजगढ महोत्सव गर्ने भएको छ । संघले आज पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सवको बारेमा जानकारी दिएको हो । संघका अध्यक्ष निजगढको व्यापार, पर्यटन र कृषि क्षेत्रको प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठका अनुसार काठमाण्डौंस्थित राजधानी राइडर्स नेपालसँगको सहकार्यमा निजगढ नगरपालिका वडा नम्बर ८ स्थित खयरघारीमा महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सवमा स्थानीय कला, संस्कृति, पेसा, प्रकृति, परम्परा र जीवनशैलीको अवलोकन गर्न पाइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महोत्सवमा स्थानीय कृषि उत्पादन र केराको परिकारको विशेष प्रस्तुति हुने बताइएको छ । करिव १ करोड अनुमानित खर्च गरी स्थानीय र बाह्य गरी २ लाख ५० हजार अवलोकनकर्ता सहभागी गराउने लक्ष्य आयोजकको रहेको बताईएको छ । महोत्सवमा कृषि र स्थानीय उत्पादनलाई सहुलियतमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको छ । आयोजकका अनुसार महोत्सवमा १ सय ५० वटा स्टल रहनेछ । महोत्सव सफल पार्न मूल आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।पत्रकार सम्मेलनमा संघका उपाध्यक्ष नवराज मैनाली, उषा लामा मोक्तान, महासचिव गोविन्दप्रसाद न्यौपाने, सदस्यहरू उमेश दाहाल, सरोज कोइराला, दिपा सापकोटा, अरूण साह, इन्दीप कोइराला, राजन क्षेष्ठलगायतको उपस्थिति रहेको थियो ।