सगरमाथा सहकारीको आँखा शिविरमा ४५८ परीक्षण, भोलि रक्तदान र फलफूल वितरण कार्यक्रम

                     
  नेपाल लेख   २०८२ कार्तिक २२, शनिबार २१:४५

बारा,निजगढ नगरपालिका– ७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा (रजत वर्ष) को अवसरमा निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण कार्यक्रम सम्पन्न गरेको छ । आज बिहान ८ बजेबाट विद्यासागर इङ्लिश बोर्डिङ स्कूल, निजगढ ७ मा सुरु भएको शिविरमा हिमाल आँखा अस्पताल, विराटनगर र कोशी आँखा अस्पताल, सुनसरीले प्राविधिक सहयोग प्रदान गरेका थिए ।

कार्यक्रमको सभाध्यक्षता संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमले गर्नुभएको थियो । अतिथिहरूमा हिमाल आँखा अस्पतालका अध्यक्ष राम सेवक साह, हस्पिटल डाइरेक्टर अमन साह, मेडिकल डाइरेक्टर डा. प्रमोद शर्मा गौतम, कोर्डिनेटर विन्देश्वर साह, ओपिडी इन्चार्ज राम प्रकाश महतो, ओटी इन्चार्ज गहेन्द्र कार्की, अप्टोमेट्रिष्ट सत्यजित सिंह र अप्टीसियन मुन्नू खान लगायतको सहभागिता थियो । शिविरमा ४५८ जनाले आँखा परीक्षण गराएका थिए भने ९० जनामा मोतिविन्दुको समस्या पाइएको डा.प्रमोद शर्मा गौतमले जानकारी दिनुभयो । स्थानीय बासिन्दा, वृद्धवृद्धा, विद्यार्थी र बालबालिकासहित सयौँले उक्त शिविरबाट सेवा प्राप्त गरेका थिए ।

अस्पतालका प्राविधिक टोलीले आँखा स्वास्थ्यसम्बन्धी सल्लाह र सचेतनामूलक सन्देश पनि दिएका थिए । शिविरमा गौरीशंकर माध्यमिक विद्यालयका स्काउट विद्यार्थीहरूले स्वयंसेवकको रुपमा खटिएका थिए । संस्थाका अध्यक्ष गौतमका अनुसार सहकारीले आफ्नो रजत वर्षको अवसरमा हाजिरीजवाफ, वक्तृत्वकला, चित्रकला र रक्तदान कार्यक्रम सहित विविध सामाजिक क्रियाकलाप सञ्चालन गरेको बताउनुभयो ।

यस्तै, सहकारीले भोली निजगढ शहीदचोकमा रक्तदान कार्यक्रम र पर्सी सोमबार बिहान ११ बजे निजगढ बैंकेट प्रा.लि.मा साधारण सभा आयोजना गर्ने जनाएको छ । सगरमाथा साकोस २०५७ साल कार्तिक २४ गते शिक्षकहरूको नेतृत्वमा स्थापना भएको हो । स्थापना यताका वर्षहरूमा सहकारीले शिक्षा, स्वास्थ्य, स्वावलम्बन र सामाजिक सचेतनामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको अध्यक्ष गौतमले बताउनुभयो । संस्थाले आगामी दिनहरूमा पनि समुदाय केन्द्रित सेवा र सामाजिक उत्तरदायित्वका कार्यलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?