बारा,जेनजी आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार निजगढ सिंगौलका बाबु लामा भनिने हिरालाल मोक्तानलाई निजगढ प्रहरीले फिल्मी शैलीमा पक्राउ गरेको छ । नियन्त्रणमा लिने क्रममा मोक्तानसंग प्रहरीको लामो समयसम्म घम्साघम्सी भएको निरीक्षक लामिछानेले बताउनुभयो । प्रहरीले समातिसकेपछि पनि भाग्ने प्रयास गरेकाले जबरजस्ति नियन्त्रणमा लिनुपरेको निरीक्षक लामिछानेले जानकारी दिनुभयो । मोक्तानलाई नियन्त्रणमा लिन ८ जनाको प्रहरी टोलीलाइ पौने घण्टा समय लागेको थियो । इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेको टोलीले मोक्तानलाई प्रहरीले बुधवार राति करिब ८ बजे निजगढ नगरपालिका– ३ पिपलटारबाट पक्राउ गरेको हो । निजगढ ७ का एक युवकलाई काठमाण्डौंको बूढानीलकण्ठमा हत्या गरेको आरोपमा अदालतको आदेशपछि पुर्पक्षको लागि जेल गएका मोक्तान जेनजी आन्दोलनको क्रममा भदौं २४ गते नख्खु कारागारबाट फरार बनेका थिए । मोक्तान निजगढ आएर गाउँका स्थानीयलाई धम्काएर रकम असुली गर्दै आएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएर उनलाई नियन्त्रणमा लिएको हो । स्थानीयका अनुसार सिंगौलमा लागेको गुम्बा मेलाका व्यवसायीहरुलाई धम्काएर मोक्तानले रकम असुली गरेका थिए । प्रहरीले मोक्तानको गतिविधिबारे केही दिनदेखि निगरानी गर्दैआएको थियो । काठमाण्डौंको बूढानीलकण्ठमा निजगढका नगरपालिका– ७ का ३२ वर्षीय कृष्णकुमार लामाको गत असार ६ गते हत्या गरेको आरोपमा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि मोक्तानलाई कारागार पठाउने आदेश दिएको थियो । यसअघि पनि मोक्तान जघन्य आपराधिक घटनामा संलग्न व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनले २४ भदौ २०६८ मा रौतहटको हिमालीवासका टेकनाथ पौडेललाई अपहरण गरी १० लाख रुपैयाँ फिरौती उठाएका थिए । सो प्रकरणमा सर्वाेच्च अदालतले तोकेको १२ वर्ष कैद सजाय पूरा गरेर २ वर्षअघि रिहा भएका थिए ।
















