सगरमाथा सहकारीको रजत वर्ष अवसरमा नगरस्तरीय हाजिरीजवाफ, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न

                     
  नेपाल लेख   २०८२ कार्तिक २१, शुक्रबार २१:३२

निजगढ, निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा (रजत वर्ष) को अवसरमा आयोजित नगरस्तरीय हाजिरीजवाफ, चित्रकला र वक्तृत्वकला प्रतियोगिता आज संस्थाको आफ्नै सभाहलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमको सभाध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगितामा नगरभरिकै विद्यालयहरूबाट सहभागी विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए । हाजिरीजवाफ र वक्तृत्वकला दुवै विधामा निजगढ– ७ स्थित बिद्यासागर ईङ्लिस बोर्डिङ स्कूलले पहिलो स्थान हासिल गरेको छ । हाजिरीजवाफतर्फ निजगढ –५ स्थित श्री सार्वजनिक माध्यमिक विद्यालय दोस्रो र निजगढ– ७ स्थित नेत्रोदय माध्यमिक विद्यालय तेस्रो भएका छन् । चित्रकला प्रतियोगितामा पनि विद्यासागर ईङ्लिस बोर्डिङ स्कूल पहिलो भएको छ भने जनज्योति आधारभूत विद्यालय (निजगढ–७) की छात्रा प्रनिका मोक्तान दोस्रो र निजगढ– ८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका छात्र मुस्कान यादव तेस्रो भएका छन् । वक्तृत्वकला प्रतियोगितातर्फ विद्यासागर ईङ्लिस बोर्डिङ स्कूलकी छात्रा सुश्रीका अधिकारी पहिलो, गौरीशंकर माध्यमिक विद्यालय निजगढ– ६ का छात्र गौतमकुमार साह दोस्रो र नेत्रोदय माध्यमिक विद्यालय निजगढ–७ का विजय बि.क.तेस्रो भएका छन् । कार्यक्रमको निर्णायक मण्डलमा निजगढ नगरपालिकाका शिक्षा शाखाका प्रतिनिधि प्रदीप ढकाल, गौरीशंकर क्याम्पसका प्राध्यापक गोविन्द अधिकारी र शिक्षक जीवनकुमार काफ्ले रहेका थिए । कार्यक्रम सञ्चालन सहकारीका सचिव बोधनाथ चौलागाईंले गर्नुभएको थियो । सहकारीले रजत वर्षको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत भोलि बिद्यासागर ईङ्लिस बोर्डिङ स्कूलको भवनमा निःशुल्क आँखा शिविर र पर्सि निजगढ शहीदचोकमा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाको २५औँ वार्षिक साधारण सभा (रजत वर्ष) भने यही कात्तिक २४ गते सोमबार हुने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?