निजगढमा ४१ औँ टासिधार्गेलिङ गुम्बा मेला भव्य तयारी सहित हुदै

                     
  नेपाल लेख   २०८२ कार्तिक १५, शनिबार १९:११

निजगढ, बाराको निजगढ नगरपालिका–३ मा अवस्थित ऐतिहासिक टासिधार्गेलिङ बौद्ध गुम्बामा यस वर्ष आयोजना हुन लागेको ४१औँ गुम्बा मेला भव्य र ऐतिहासिक हुने अपेक्षा गरिएको छ । तामाङ समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक पहिचानसँग गहिरो रूपमा जोडिएको यो मेला हरेक वर्ष कार्तिक पूर्णिमाको अवसरमा मनाइँदै आएको परम्परा छ ।

गुम्बा मेला कार्तिक १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने छ । मेलाको औपचारिक उद्घाटन निजगढ नगरपालिकाका प्रमुख मेयर सुरथ पुरीको प्रमुख आतिथ्यमा हुने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम (ज्ञानु) जिम्बाले जानकारी दिए । उनका अनुसार यसपटकको मेला स्थानीय सहभागिता, मनोरञ्जन र धार्मिक श्रद्धा तीनै दृष्टिले विशेष हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय कलाकारको आकर्षक प्रस्तुति :-

मेलालाई अझ आकर्षक बनाउन यसपटक चर्चित राष्ट्रिय कलाकारहरूको विशेष प्रस्तुति समावेश गरिएको छ । आयोजकका अनुसार दीपक बज्राचार्य एण्ड द रिदम ब्यान्ड, लोकप्रिय गायक कुमा सागर, र्यापर मिस्टर डी (सन्दीप विष्ट) र लाहुरे (आशिष राणा) पहिलो पटक निजगढ आउने भएका छन् ।

“यी कलाकारहरूको प्रस्तुतिले मेलामा विशेष रौनक थप्ने विश्वास लिएका छौं,” अध्यक्ष ज्ञानुले बताए । उनका अनुसार प्रत्येक रात फरक–फरक सांगीतिक प्रस्तुति हुनेछ, जसमा राष्ट्रियस्तरका कलाकारसँगै स्थानीय प्रतिभाहरूको पनि सहभागिता रहनेछ ।

स्थानीय कलाकारलाई अवसर :-

मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जिव योञ्जनले स्थानीय प्रतिभालाई प्रोत्साहन दिने उद्देश्यका साथ नयाँ अनुहारका कलाकारहरूलाई पनि अवसर दिइएको बताए ।

“यो मेला केवल मनोरञ्जन होइन, स्थानीय कलाकारहरूलाई आफ्नो प्रतिभा देखाउने मञ्च पनि हो,” उनले भने ।

मनोरञ्जन र पारिवारिक आकर्षण :-

समितिका सचिव युवराज वल तामाङका अनुसार मेलास्थलमा हाल रोटिपिङ, मौत का कुंआ, जम्पिङ, कोलम्बस सवारी लगायतका मनोरञ्जन सामग्रीहरू सेटअप भइरहेका छन् । साथै बालबालिकाका खेल सामग्री, स्थानीय परिकारका स्टल, फोटो स्पट र परम्परागत झाँकी प्रदर्शनहरू पनि रहनेछन् ।

व्यवसायिक हिसाबले पनि मेला महत्वपूर्ण मानिन्छ । यसपटक मेलामा व्यवसायी र होटल सञ्चालकका लागि स्टल वितरण कार्तिक १६ गते बिहानदेखि सुरु हुने र इच्छुकहरूलाई समितिसँग सम्पर्क गर्न आग्रह गरिएको छ ।

सुरक्षा र व्यवस्थापन :

मेलाको अवधिभर शान्ति सुरक्षाको व्यवस्था कडाइका साथ गर्ने तयारी भइरहेको समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय सुरक्षा समितिहरूसँग समन्वय गरी सुरक्षा योजना तयार गरिएको छ। साथै सफा सरसफाइ, ट्राफिक व्यवस्थापन, स्वास्थ्य सेवा र आपतकालीन उद्धार टोली पनि सक्रिय रहनेछ ।

धार्मिक र सांस्कृतिक महत्व :-

टासिधार्गेलिङ गुम्बा मेला तामाङ समुदायका लागि मात्र नभई सम्पूर्ण क्षेत्रकै धार्मिक र सांस्कृतिक मिलनबिन्दु बनेको छ । तामाङ समुदायमा कार्तिक र चैत्र पूर्णिमाका अवसरमा दिवंगत पितृहरूको सम्झनामा दीपप्रज्वलन र पूजापाठ गर्ने परम्परा रहिआएको छ ।

यस वर्ष पनि गुम्बा प्राङ्गणमै पितृको सम्झनामा दीपप्रज्वलन कार्यक्रम आयोजना गरिनेछ । बारासँगै मकवानपुर, रौतहट, पर्सा, सिन्धुली लगायतका जिल्लाबाट भक्तजन र मेलाप्रेमीहरूको ठूलो घुँइचो लाग्ने अपेक्षा गरिएको छ ।

समितिका अध्यक्ष ज्ञानुका अनुसार, “यो मेला धार्मिक श्रद्धा, सांस्कृतिक पहिचान र भाईचाराको प्रतीक बनेको छ। यसले निजगढ नगरको पर्यटन र सांस्कृतिक महत्वलाई अझ उजागर गर्नेछ ।”

४१औँ टासिधार्गेलिङ गुम्बा मेला केवल एक धार्मिक उत्सव होइन, यो निजगढको सामाजिक एकता, स्थानीय व्यवसायको अवसर र सांस्कृतिक समृद्धिको परिचायक हो ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?