निजगढ, बाराको निजगढ नगरपालिका–१३ डम्बरपुरस्थित शिव शक्तेश्वर महादेव मन्दिरमा लाग्ने हरिबोधिनी एकादशी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ। मन्दिर परिसर र वरिपरिका सडकको सरसफाइदेखि सजावटसम्मका सबै काम सकिएको आयोजक फ्याफुल्ला युवा क्लब डम्बरपुरका अध्यक्ष प्रताप घलानले जानकारी दिनुभयो।
प्रत्येक वर्षजस्तै यस वर्ष पनि हरिबोधिनी एकादशीको अवसरमा भोलिदेखि मेला सुरु हुने भएको छ। मेला अवलोकन र पूजा–अर्चनाका लागि डम्बरपुर, रतनपुर, भक्तलाल, हेटौडा, अम्लेखगञ्ज लगायत बाराको दक्षिणी भेगका गाउँहरूबाट ठूलो संख्यामा श्रद्धालु भक्तजन आउने अपेक्षा गरिएको अध्यक्ष घलानले बताउनुभयो।
मेलामा विभिन्न सांस्कृतिक नृत्य, भजन–कीर्तन, नाचगान, साथै पसल, खेल र मनोरञ्जनात्मक स्टलहरू पनि रहने क्लबले जनाएको छ। श्रद्धालुहरू ढोलीमा फूल र प्रसाद लिएर शक्ति खोलामा फूल तार्ने, मन्दिरमा पूजा गर्ने र तोरण टाँग्ने परम्परा अनुसार सहभागी हुने गर्छन्।
हिन्दू धर्म अनुसार एकादशीको दिन भगवान् विष्णुको उपासना गर्ने विशेष पर्व हो। यस दिन उपवास बसेर तुलसीको पूजा गर्ने परम्परा रहेको छ। यही दिन भगवान् विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको विश्वासका आधारमा तुलसी विवाह गर्ने चलन पनि रहिआएको छ।
आयोजक फ्याफुल्ला युवा क्लबका अनुसार मेलालाई व्यवस्थित र आकर्षक बनाउन सुरक्षा, सरसफाइ र यातायात व्यवस्थापनमा विशेष ध्यान दिइएको छ। क्लबले स्थानीय प्रशासन, प्रहरी र समुदायका स्वयंसेवकहरूसँग सहकार्य गर्दै मेला व्यवस्थित रुपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।

















