सगरमाथा सहकारीको २५औँ साधारण सभाको अवसरमा आँखा शिविर, रक्तदान र विभिन्न प्रतियोगिता हुदै

                     
  नेपाल लेख   २०८२ कार्तिक १३, बिहीबार ०६:४५

निजगढ, बारा : निजगढ–७ स्थित सगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ वार्षिक साधारण सभा (रजत बर्ष ) को अवसरमा विविध सामाजिक तथा सृजनात्मक कार्यक्रमहरू आयोजना गर्ने भएको छ। सहकारीले आँखा शिविर, रक्तदान, अस्पतालका बिरामीहरूलाई फलफूल वितरणका साथै हाजिरी जवाफ, वक्तृत्वकला र चित्रकला प्रतियोगिता संचालन गर्ने तयारी गरेको जनाएको छ।

संस्थाका अध्यक्ष भोलाप्रसाद गौतमका अनुसार साधारण सभा आगामी कार्तिक २४ गते ,सोमबार हुने छ। सभाको तयारीअन्तर्गत कार्तिक २१ गते शुक्रबार संस्थाको आफ्नै भवनमा निजगढ नगरस्तरीय हाजिरी जवाफ, वक्तृत्वकला र चित्रकला प्रतियोगिता आयोजना गरिनेछ।

त्यसपछि कार्तिक २२ गते शनिबार बिद्यासागर इङ्लिस बोर्डिङ स्कुलको भवनमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुनेछ भने कार्तिक २३ गते आइतबार निजगढ शहीदचोकमा रक्तदान कार्यक्रम तथा स्थानीय अस्पतालका बिरामीहरूलाई फलफूल वितरण गरिनेछ।

अध्यक्ष गौतमका अनुसार सहकारी सञ्चालक समितिको २०८२ साल भदौ ८ गते बसेको बैठकले साधारण सभाको अवसरमा सामाजिक उत्तरदायित्वका कार्यक्रमसहितका विविध गतिविधि गर्ने निर्णय गरेको थियो। सो बैठकले आर्थिक वर्ष २०८१/०८२ मा केही सदस्यहरूले नियमित बचत नगरेको र ऋणको भाखा नाघेका ऋणी सदस्यहरूले कार्तिक १५ गतेभित्र आफ्नो कारोबार अनिवार्य रूपमा नियमित गर्नुपर्ने निर्णय गरेको छ। अन्यथा, ती सदस्यहरू साधारण सभाबाट प्राप्त हुने सबै प्रकारका लाभबाट बञ्चित हुने व्यवस्था गरिएको छ।

साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्ष गौतमले आ.व. २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने कोषाध्यक्ष बच्चुराम लामिछानेले सो वर्षको आर्थिक प्रतिवेदन र आ.व. २०८२/०८३ को प्रस्तावित वार्षिक बजेट प्रस्तुत गर्नेछन्।

त्यस्तै, सभामा लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को लेखा परीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, साथै आ.व. २०८२/०८३ का लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने कार्यसूची पनि रहनेछ।

सोही अवसरमा सहकारीले विभिन्न विधामा उत्कृष्ट कार्य गरेका व्यक्तिहरूलाई सम्मान र पुरस्कार वितरण गर्नेछ। साथै, भाग्यशाली चिट्ठा कार्यक्रम पनि सञ्चालन गर्ने तयारी गरिएको अध्यक्ष गौतमले नेपाललेख डटकमलाई जानकारी दिनुभयो।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?