बसन्त लामा, निजगढ, बारा, निजगढ नगरपालिका वडा नं. ३ स्थित ऐतिहासिक तथा धार्मिक स्थल टासीधार्गेलिङ बौद्ध गुम्बामा लाग्ने वार्षिक मेला यस वर्ष पनि भव्य रूपमा आयोजना गरिने भएको छ । गुम्बा मेलाको हालसम्म करिब ६० प्रतिशत तयारी कार्य सम्पन्न भइसकेको मेलाअन्तर्गतका कार्यमा संलग्न समितिले जनाएको छ ।
गुम्बा मेला आउँदो कार्तिक १७ गतेदेखि सुरु हुने भएको हो । मेलाको उद्घाटन निजगढ नगरपालिकाका प्रमुख मेहेर सुरथ पुरीको प्रमुख आतिथ्यमा हुने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष सुकराम जिम्बा (ज्ञानु) ले जानकारी दिनुभयो ।
मेलालाई आकर्षक बनाउन साँगीतिक कार्यक्रमको लागि कलाकारहरूको बन्दोबस्त समेत भइसकेको समितिले जनाएको छ । यस वर्ष मेलामा मिस्टर डी लाहुरे, दीपक बज्राचार्य, कुमसागर लगायतका चर्चित कलाकारका साथै नयाँ अनुहारका कलाकार र स्थानीय प्रतिभाको समेत प्रस्तुति रहने गुम्बा मेला व्यवस्थापन समितिका अध्यक्ष संजिव योन्जनले बताउनुभयो ।
यो वर्षको मेला ४१औं संस्करण हो । वर्षेनी ख्यातिप्राप्त कलाकारको प्रस्तुति हुने मेलामा यसपटक नयाँ अनुहारका कलाकारलाई पनि अवसर प्रदान गरिएको आयोजक समितिको भनाइ छ ।
मनोरञ्जनका लागि नाउ, रोटिपिङ, मिक्कुमाउ, जम्पिङ लगायतका खेल सामग्री धमाधम सेटअप भइरहेको समितिका सचिव युवराज वल तामाङले जानकारी दिनुभयो । साथै, मेलामा पसल वा होटल सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले १६ गते बिहानदेखि स्टल वितरणमा सहभागी हुन सक्ने सूचनासमेत व्यवस्थापन समितिले सार्वजनिक गरेको छ ।
चार दिनसम्म चल्ने मेलाको अवधिभर शान्ति सुरक्षाको व्यवस्था कडाइका साथ गर्ने तयारी भइरहेको र यसका लागि सम्बन्धित सुरक्षा निकायहरूसँग पत्राचारको गृहकार्य भइरहेको व्यवस्थापन समितिले जनाएको छ ।
तामाङ समुदायमा कार्तिक पूर्णिमा र चैत्र पूर्णिमाका अवसरमा पितृको सम्झनामा गुम्बा, चैत्यलगायत धार्मिक स्थलमा दीपप्रज्वलन र पूजापाठ गर्ने परम्परा रहिआएको छ । सोही परम्परालाई निरन्तरता दिँदै यस वर्षको गुम्बा मेलामा पनि पितृको सम्झनामा दीपप्रज्वलन कार्यक्रम हुने भएको छ ।
गुम्बा मेलामा मकवानपुरको बकैया गाउँपालिका (राजुवा, धियाँला, थाकालचौर, तीनढुंगे, सरस्वती, दमैचौर, तीनभङले) लगायतका स्थानहरूबाटै होइन, सिन्धुली, रौतहट र बारा जिल्लाका स्थानीय समेतको सक्रिय सहभागिता हुने अपेक्षा गरिएको छ ।

















