बारा , लगातारको वर्षासँगै मकवानपुरस्थित बकैया खोलाको जलसतह सतर्कता तह नाघेर बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मकवानपुरको बकैया गाउँपालिका अन्तर्गत जुरेली बजार जलमापन केन्द्रमा शुक्रबार साँझ ६ बजेदेखि जलसतह सतर्कता तह पार गरी अझै बढिरहेको छ। विभागले नदी तटीय क्षेत्र र डुबानको सम्भावना रहेका होचा भू–भागमा बसोबास गर्ने स्थानीयवासीलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
“पानीको बहाव अझै बढ्दै जाने सम्भावना भएकाले आसपासका क्षेत्रमा डुबान र जनधनको क्षति हुनसक्छ, त्यसैले आवश्यक तयारी र सतर्क रहन सबैलाई अनुरोध गरिएको छ,” विभागले जनाएको छ।
बकैया खोलको तल्लो तटीय क्षेत्र बाराको निजगढ नगरपालिका हुँदै रौतहटका गुजरा, फतुवा विजयपुर, कटहरिया, मौलापुर, इशनाथ, बैधिमाई, पोराह र गौर नगरपालिकासम्म फैलिएको छ। प्रत्येक वर्ष यस क्षेत्रमा बकैया बाढीका कारण ठूलो धनजनको क्षति हुने गरेको छ।
यसैबीच, बकैया बाढीले रौतहटको पोराह नगरपालिकामा निर्माणधिन बाँध कटान गरेको छ। पोराह–३ र ४ मा निर्माणाधीन बाँध बाढीले कटान गरी भत्काएको नगरपालिकाका इन्जिनियर दिपेन्द्र यादवले जानकारी दिए।
स्थानीयवासीले तटबन्ध कटानसँगै अझ बढी जोखिम बढेको भन्दै तत्काल स्थायी समाधानको माग गरेका छन्।

















