बाराको कलैयामा एक जनामा हैजा संक्रमण पुष्टि, पर्सामा संक्रमित १३२

                     
  नेपाल लेख   २०८२ भाद्र ११, बुधबार २१:२६

बारा : बाराको कलैयामा हैजाको संक्रमण पुष्टि भएको छ। प्रादेशिक अस्पताल कलैयामा उपचाररत कलैया उपमहानगरपालिका–१८ पतौराका एक पुरुषमा हैजा पुष्टि भएको अस्पताल प्रमुख मेसु डा. अजयकुमार गुप्ताले जानकारी दिनुभयो।

झाडापखाला लागेर अस्पतालमा भर्ना भएका ती पुरुष वीरगञ्जस्थित एक निजी कम्पनीमा कार्यरत कर्मचारी भएको पारिवारिक स्रोतले जनाएको छ। संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीको टोली तुरुन्तै संक्रमितको घर र गाउँमा पठाइएको थियो। टोलीले अन्यमा पनि लक्षण देखिएको छ कि भनेर निगरानी र परीक्षण गरेको छ। हालसम्म थप संक्रमित नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले जानकारी दिनुभयो।

पछिल्लो समय सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूमा हैजाबारे हल्ला फैलिरहेको छ। तर जिल्ला स्वास्थ्य कार्यालयले जनतालाई आतंकित नहुन र सावधानी अपनाउन आग्रह गरेको छ। प्रमुख यादवका अनुसार, “कोही पनि डराउनु पर्दैन। आफू र परिवारको व्यक्तिगत सरसफाइमा ध्यान दिनुहोस्, नियमित रूपमा साबुनपानीले हात धुनुहोस्, सुरक्षित खानेपानी प्रयोग गर्नुहोस्। सावधानी नै सुरक्षा हो।”

यसैबीच, बारासँगै सीमाना जोडिएको पर्साको वीरगञ्ज शहरमा गत शुक्रबारदेखि फैलिएको हैजाबाट संक्रमित हुनेको संख्या बुधबार दिउँसोसम्म १३२ पुगेको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?