सर्लाहीमा अज्ञात समूहद्वारा गोली प्रहार, शिक्षकको मृत्यु

                     
  नेपाल लेख   २०८२ श्रावण ३०, शुक्रबार २२:४३

सर्लाही : सर्लाहीको हरिपुर्वा नगरपालिका–६ मा अज्ञात समूहको गोली प्रहारबाट एक शिक्षकको मृत्यु भएको छ । राति साढे ८ बजेतिर मोटरसाइकलमा आएका हतियारधारीले स्थानीय शिक्षक अन्दाजी ५० वर्षीय रामपुकार यादवमाथि गोली प्रहार गरेका हुन् ।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार गोली लागेपछि गम्भीर घाइते भएका यादवलाई उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल लैजाँदै गर्दा बाटैमा उनको मृत्यु भएको थियो। अस्पताल पुग्दा मृत्यु भइसकेको हस्पिटलका सञ्चालक डा.सुरेन्द्र यादवले पुष्टि गरेका छन् ।

प्रहरीका अनुसार हतियारधारीले गोली प्रहार गरेपछि भाग्ने क्रममा यादव मोटरसाइकल दुर्घटनामा समेत परेका थिए । घटना किन र कसले घटायो भन्नेबारे अनुसन्धान भइरहेको र दोषीलाई पक्राउ गर्न प्रहरीले खोजी तीव्र पारेको डीएसपी राईले बताए ।

यो घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?