बारामा ‘ साउन महिनाको उत्कृष्ट प्रहरी’ घोषित प्रहरी निरीक्षक लामिछाने

                     
  नेपाल लेख   २०८२ भाद्र २, सोमबार २०:५३

निजगढ (बारा) : ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछाने साउन महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय बाराले उनको नेतृत्वमा अपराध नियन्त्रण, अनुसन्धान र सामुदायिक प्रहरी साझेदारीलाई प्रभावकारी ढंगले अगाडि बढाएको भन्दै ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of the Month) सम्मान प्रदान गरेको हो ।

कार्यालयले दिएको विवरणअनुसार निरीक्षक लामिछानेले साउन महिनामा महत्वपूर्ण घटनाहरूमा सक्रिय भूमिका निभाएका थिए । निजगढ–१२ रामथलीकी असक्त महिलामाथि जबरजस्ती करणी गर्ने फरार अभियुक्तलाई पक्राउ गर्ने, साउन १३ गते राति निजगढ–२ तामागढीमा ट्रकको ठक्करबाट मृत्यु भएका कोल्हवी–५ का सुरेश चौधरीको घटनामा ठक्कर दिने ट्रकसहित चालक पक्राउ गर्ने तथा निजगढ–११ बाट २४ किलो लागुऔषध गाँजासहित दुई जना पक्राउ गर्ने जस्ता उल्लेखनीय कार्य उनले टोलीलाई नेतृत्व गरेर सम्पन्न गरेका थिए ।

त्यसैगरी, लामिछानेको नेतृत्वमा विभिन्न वडाहरूमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत ट्राफिक सचेतना, लागुऔषध दुरुपयोग विरुद्ध, महिला हिंसा तथा घरेलु हिंसा नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले निरीक्षक लामिछानेलाई सम्मानपत्र सहित उत्कृष्ट प्रहरी घोषणा गरेका हुन्। उनले उच्च व्यावसायिकता, कार्यकुशलता र जिम्मेवारीपूर्ण नेतृत्व प्रदर्शन गरेको भन्दै अन्य प्रहरीहरूलाई पनि प्रेरणा दिने किसिमले यो सम्मान गरिएको बताइएको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?