ट्रकको ठक्करबाट युवकको मृत्यु : फरार चालक एक सातापछि नियन्त्रणमा

                     
  नेपाल लेख   २०८२ श्रावण १९, सोमबार २१:४४

निजगढ, बारा | ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएपछि फरार रहेका चालकलाई प्रहरीले एक सातापछि पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ।

गत साउन १३ गते राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत निजगढ नगरपालिका–८, तामागढीमा ट्रकको ठक्करबाट गम्भीर घाइते भएका समिर चौधरीको उपचारको क्रममा मृत्यु भएपछि फरार भएका ट्रक चालकलाई नियन्त्रणमा लिइएको हो।

मृतक कोल्हबी नगरपालिका–५ निवासी २० वर्षीय समिर चौधरी चितवनस्थित एक स्टिल कारखानामा मजदुरी गर्थे। घटनाको रात उनी बस चढेर घर फर्किंदै थिए। तर तामागढीमा ओर्लिएर सडक पार गर्ने क्रममा पूर्वबाट आइरहेको को.१ ख ७८०८ नम्बरको ट्रकले ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका चौधरीलाई तत्काल उपचारका लागि वीरगन्जस्थित एसएल न्युरो अस्पताल लगिएको थियो। तर भोलिपल्ट उनको मृत्यु भयो।

घटनापछि फरार रहेका ट्रक चालक वीरगन्ज निवासी सन्दीपकुमार भण्डारीलाई इलाका प्रहरी कार्यालय निजगढको टोलीले आइतवार वीरगन्जबाट नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार, ट्रकको पहिचान नखुलेपछि प्रारम्भिक चरणमा दर्जनौं गाडीका चालकहरूसँग सोधपुछ गरिएको थियो। साथै, निजगढ, चन्द्रपुर, पथलैया हुँदै चितवनसम्मका सीसीटीभी फुटेजहरूको विश्लेषणपछि ठक्कर दिने ट्रक र चालकको पहिचान सम्भव भएको उनले बताए।

"अनुुसन्धान कठिन थियो, तर हामी निरन्तर लागिरह्यौं। अन्ततः ठक्कर दिने ट्रक वीरगन्ज पुगेको पुष्टि भएपछि चालकलाई नियन्त्रणमा लिइयो," निरीक्षक लामिछानेले भने।

प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएर जिल्ला अदालत कलैयाबाट अनुसन्धानका लागि म्याद थप गरिसकेको जनाएको छ। मृतक समिर चौधरीको परिवारले दोषी चालकलाई कडाभन्दा कडा सजाय दिन माग गरेका छन्।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?