निजगढ ,निजगढस्थित पूर्व–पश्चिम राजमार्गको सडक किनारामा लामो समयदेखि बेवारिसे अवस्थामा पार्क गरिएको भारतीय नम्बर प्लेटको एउटा कारलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय निजगढका अनुसार शनिबार बिहान १० बजे निजगढ–७ शहीद चोकस्थित कुमारी बैङ्क अघिको सडक किनाराबाट उक्त कार नियन्त्रणमा लिइएको हो । स्थानीयबासीले लामो समयदेखि सो कार छाडिएको सूचना दिएपछि सादा पोशाकमा गएको प्रहरी टोलीले उक्त कार लक गरिएको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार, ‘रेनोल्ट कम्पनीको उक्त कार भारतीय नम्बर प्लेटको हो । नियन्त्रणमा लिएर जब कार्यालय ल्यायौं, कार भित्र खोजतलास गर्दा भारतीय नागरिकको नाममा रहेको सवारी चालक अनुमति पत्र, भन्सार दस्तुर बुझाएर पटक–पटक नेपाल भित्र्याइएको प्रमाण फेला परेको छ ।’
उनका अनुसार पछिल्लोपटक सो कार वीरगञ्ज नाकाबाट नेपाल भित्र्याइएको देखिएको छ । यद्यपि कारसँग सम्बन्धित थप परिचय खुल्ने कुनै प्रमाण भने फेला परेको छैन ।
शंका लागेपछि कार खोलेर जाँच गरिएको र हाल उक्त कारप्रति थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उक्त कार झण्डै दुई हप्ता अघि ल्याइएको स्थानीय व्यवसायीहरुको भनाइ छ । शहीद चोकस्थित मोबाइल पसल सञ्चालक खड्गप्रसाद उप्रेतीका अनुसार, दुई जना भारतीय मूलजस्ता देखिने व्यक्तिहरुले झण्डै १५ दिनअघि सो कार ल्याएर सडक छेउमा राखेका थिए ।
‘दुई जना मानिस ओर्लिएर कारको बोनट खोलेर हेर्दै थिए, बिग्रेको रहेछ भन्ने लागेर हामीले त्यति चासो दिएका थियौं । त्यसपछि उनीहरु फर्किएनन्,’ उप्रेतीले भने ।
प्रहरीले कार कसले, किन र के प्रयोजनका लागि छाडेको भन्नेबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
















