नापी उपकरण बिग्रिएपछि भूमिहिनको जग्गा नापजाँच ठप्प, दुई महिना काम अवरुद्ध

                     
  नेपाल लेख   २०८२ श्रावण १६, शुक्रबार २१:५४

बारा : कमसल नापी उपकरणका कारण जीतपुरसिमरा उपमहानगरपालिका तथा जिल्लाका विभिन्न पालिकामा भूमिहिन, सुकुम्बासी र अव्यवस्थित बासोबासीका लागि भइरहेको जग्गा नापजाँचको काम दुई महिनादेखि ठप्प भएको छ।

भूमि समस्या समाधान आयोग बाराले चालु वर्षको वैशाख पहिलो साताबाट निजगढ र जीतपुरसिमराका आधा दर्जन वडामा एकसाथ नापजाँच सुरु गरेको थियो। तर, जीतपुरसिमरा उपमहानगरपालिकाले प्राविधिक टोलीलाई उपलब्ध गराएको नापी उपकरण विग्रिएपछि प्राविधिक काम अवरुद्ध भएको हो।

आयोग बाराका जिल्ला अध्यक्ष भरत घलेका अनुसार, जीतपुरसिमरा–१८ लामिडाँडा र वडा नं। २२ अमलेखगञ्जमा काम भइरहेको बेलामा मेसिन बिग्रिएको हो। अमलेखगञ्जमा त निजगढ नगरपालिकाको उपकरण ल्याएर काम अघि बढाइए पनि अन्य वडाहरूमा कार्यान्वयन रोकिएको छ।

“पालिकाबाट आएको उपकरणमा समस्या आयो, त्यसपछि काम रोकिएको छ,” अध्यक्ष घलेले जानकारी दिनुभयो, “अमलेखगञ्जमा वैकल्पिक मेसिन ल्याएर केही काम गरिएको हो।”

बिग्रिएको उपकरण जीतपुरसिमरा उपमहानगरको कार्यालयमा फिर्ता बुझाइएको आयोगले जनाएको छ। हालसम्म भएको नापीको अध्यावधिक र नक्सांकनको काम भने निरन्तर चलिरहेको आयोगले जनाएको छ।

यता, उपमहानगर प्रमुख राजन पौडेलले भने नापी उपकरण बिग्रिएको विषयमा चासो नदेखाएको आरोप लागेको छ। सो सम्बन्धमा सोध्दा पौडेलले भने, “विषयमा कुरा उठिरहेको छ, हाकिमलाई भनेको छु, आयोगसँग पनि छलफल हुने तयारी छ।”

तर, तत्काल नयाँ उपकरण उपलब्ध गराउने वा अवरुद्ध काम पुनः सुरु गर्ने विषयमा उहाँ स्पष्ट हुन चाहनुभएन।

भूमिहिनलाई लालपुर्जा वितरण गर्न नापजाँच गरिँदै आएको हो। आयोगले जीतपुरसिमरा–१८, १६ र २१ मा ४ र निजगढ–४ र १० मा २ गरी ६ वटा सर्वेक्षण टोली फिल्डमा खटाएको छ। हाल ती टोलीले उपलब्ध डाटाको नक्सांकन र अध्यावधिकको काम गरिरहेका छन्।

स्थानीय बासिन्दाले काम लामो समयसम्म रोकिँदा भूमिहिनलाई लालपुर्जा वितरणमा ढिलाइ हुने भन्दै असन्तुष्टि जनाएका छन्। आयोगले पनि उपकरण मर्मत वा नयाँ उपकरण उपलब्ध नभएसम्म काम अघि बढाउन सक्ने अवस्था नरहेको बताएको छ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?