समाचार पढ्दापढ्दै आँसु झारिन् वाचिकाः साथीको मृत्युको खबर पढ्दा रोक्न सकिनन् भावना

                     
  नेपाल लेख   २०८२ असार २१, शनिबार २२:००

निजगढ,सामान्यतया समाचार वाचनकर्ताको आवाज स्थिर, भावनारहित र सन्तुलित हुने अपेक्षा गरिन्छ । तर, कुनै समाचार वाचकले आफ्नै मन मिल्ने साथीको मृत्युको खबर पढ्नुपर्दा उनले आफ्नो भावना नियन्त्रण गर्न नसक्नु अस्वाभाविक होइन। यस्तै एउटा भावुक क्षणको साक्षी बन्यो– सामुदायिक रेडियो निजगढ १०७.२ मेगाहर्जको शनिबार बिहानको समाचार प्रसारण ।

समाचार वाचिका लक्ष्मी पाण्डे (मनिता) लाई शनिबार बिहान ५ः३० बजेको ’निजगढ सामुदायिक खबर’ कार्यक्रमको दौरान साथी रवि सापकोटाको निधनको खबर पढ्नु परेको थियो। रेडियोको फेसबुक पेजमा प्रत्यक्ष प्रशारण भइरहेको उक्त कार्यक्रममा लक्ष्मी आँशु थाम्न सकिनन्। समाचार वाचनकै क्रममा भक्कानिँदै हातले आँशु पुछिरहेकी उनी भावविह्वल देखिएकी थिइन् ।

लक्ष्मीले घटनाबारे पहिले जानकारी नभएको बताइन् । “कम्प्युटर खोलेर समाचार पढ्न थालेपछि मात्रै रविको निधनबारे थाहा पाएँ । मन भक्कानिएर आयो, आँशु आफैँ बग्न थाले,“उनले भनिन् ।

दायित्व निभाउने क्रममा दिलको पीडा :-

निकै मिल्ने साथीको मृत्युको खबर पढ्नुपर्ने क्षणमा उनी गहिरो मानसिक तनावमा थिइन् । “समाचार बन्द गरौं जस्तो पनि लाग्यो,“ उनले सुनाइन्, “तर पत्रकारिताको धर्म सम्झेर केहीबेर रोकिएर भए पनि समाचार पुरा गरेँ ।“

फेसबुक सहित उनको व्यक्तिगत टिकटक आइडीमार्फत प्रत्यक्ष प्रसारण भएको उक्त भिडियो शनिबार दिउँसोसम्म ३० हजारभन्दा बढीले हेरेका छन् ।

रेडियो प्रसारणमा विगत १५ वर्षदेखि संलग्न लक्ष्मीले पहिलोपटक लाइभ कार्यक्रममै यस्तो गहिरो पीडा भोग्नु परेको बताइन्। “अरु कुनै वाचकले यस्तो पीडादायी क्षण झेल्न नपरोस् भन्ने चाहना छ,“ उनले भनिन् ।

बाल्यकालदेखि सँगै, समाजसेवामा सहयात्री :-

निजगढ ९ की लक्ष्मी र निजगढ ८ का रवि बाल्यकालदेखि नै मिल्ने साथी थिए। दुबैले ’युथ अफ निजगढ’ संस्थामार्फत सामाजिक काममा सक्रियता देखाएका थिए । लक्ष्मी हाल संस्थाकी महासचिव छिन् भने रवि कोषाध्यक्ष थिए ।

“रवि सबैभन्दा सहयोगी साथी थिए,“ लक्ष्मीले भनिन्, “संस्थाको महासचिव बन्ने निर्णय पनि रविकै सुझावमा लिएको थिएँ। दैवले पनि किन यस्तो मान्छेमाथि आँखा लगायो भन्ने लागिरहेको छ।“

सिसिटिभी जडान गर्ने क्रममा मृत्यु  :-

निजगढ ५ को प्रतिक्षा टोलमा शुक्रबार राति सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लागेर ३४ वर्षीय रविको मृत्यु भएको हो । भ¥याङ्ग राखेर विजुलीको पोलमा चढेका बेला करेन्ट लागेपछि उनी माथिनै अड्किएका थिए। तलका सहयोगीले भ¥याङ झारेर उनलाई तल उतारे पनि उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्ज लैजाँदै गर्दा राति ८ः५१ बजे बाटोमै उनको निधन भयो ।

चितवनको भण्डाराबाट दुई दशकअघि निजगढ आएका रविले ३ वर्षअघि विवाह गरेका थिए। निजगढमै बसोबास गर्दै आएका उनी नेपाल केबुल नेटमा कार्यरत थिए। उनका एक श्रीमती र पाँच महिनाका छोरा छन् ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?