बारा :- बाराको कलैया उपमहानगरपालिका–१० मटिअर्वामा घरेलु विवादका क्रममा एक महिलाको हत्या भएको छ। प्रहरीले आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा ३५ वर्षीय बच्चा मियाँलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मियाँले आज दिउँसो ३ः१५ बजे आफ्नी २३ वर्षीया श्रीमती सहिना खातुनलाई कुटपिट गर्दै मासु काट्ने धारिलो हतियार (दाब) प्रहार गरी हत्या गरेका थिए।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट खटिएको टोलीले उनलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको हो।
बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितका अनुसार मियाँले श्रीमतीको टाउको र गर्दनमा दाबा प्रहार गरेका थिए। घटनामा प्रयोग भएको हतियार पनि प्रहरीले बरामद गरेको छ।
हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
















