आगामी आर्थिक वर्षबाट निजगढ नगरपालिकामा गाई श्रोत केन्द्र कार्यक्रम सञ्चालन हुने भएको छ । राष्ट्रिय गाई अनुसन्धान केन्द्र, रामपुर चितवनको वार्षिक कार्यक्रममा निजगढ गाई श्रोत केन्द्र पनि समावेश गरिएपछि आर्थिक वर्ष २०८२÷०८३ बाट निजगढ नगरपालिकामा यो कार्यक्रम सञ्चालन गर्ने तयारी थालिएको हो ।यसै सन्दर्भमा आज बागदेव दुग्ध उत्पादक सहकारी संस्थामा १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम राष्ट्रिय गाई अनुसन्धान केन्द्र रामपुर चितवनका वैज्ञानिक डा.उद्धव पनेरु र डा. विष्णु के.सी.को विशेष उपस्थितिमा सम्पन्न भएको हो ।
कार्यक्रममा सहकारी संचालक समितिका पदाधिकारी, लेखा सुपरीवेक्षण समितिका सदस्य तथा स्थानीय कृषकहरूको सहभागिता रहेको थियो । सहभागीहरूलाई कार्यक्रम अन्तर्गत सञ्चालन गरिने पशु नस्ल सुधार र दुग्ध उत्पादन वृद्धि सम्बन्धी विषयमा जानकारी दिइएको थियो ।हाल नवलपरासी, चितवन र मकवानपुरमा सञ्चालनमा रहेको गाई श्रोत केन्द्र कार्यक्रम मधेस प्रदेशमा पहिलो पटक निजगढमा सञ्चालन हुन लागेको हो । यस कार्यक्रमबाट पशु नस्ल सुधार गर्दै उन्नत जातका, धेरै दुग्ध उत्पादन गर्ने गाईको विकास गरिने अपेक्षा गरिएको छ ।कार्यक्रमले निजगढको दुग्ध क्षेत्रको गुणात्मक विकासमा महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

















