निजगढ,निजगढ नगरपालिका वडा नंं १ का वडावासीहरूका लागि एक महत्वपूर्ण स्वास्थ्य अवसर आउने भएको छ । वडा नंं १ को आयोजनामा आगामी जेष्ठ ३१ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको हो ।
यस शिविरमा स्वास्थ्य सम्बन्धी विभिन्न जाँच र विशेषज्ञ सेवाहरू एकै स्थानमा उपलब्ध गराइनेछन् । वडावासीहरूले यो अवसरको फाइदा उठाउँदै आफ्ना स्वास्थ्यका समस्या समाधान गर्न सक्नेछन् ।
शिविरमा हाड तथा नशा सम्बन्धी समस्या जाँच र परामर्श, फिजिसियन (आन्तरिक रोग विशेषज्ञ) सेवा, रगत तथा पिसाब परीक्षण, मानसिक स्वास्थ्य सम्बन्धी परामर्श (मन रोग), सुगर (मधुमेह) जाँच लगायतका उपलब्ध सेवाहरु रहेका छन् । शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म वडा कार्यालयको भवनमा सम्पन्न हुनेछ ।
निजगढ नगरपालिका वडा नंं.१ का वडा अध्यक्षले वडावासीलाई यो शिविरमा भाग लिन आह्वान गरेका छन् र स्वास्थ्यमा देखिएका कुनै पनि समस्याबारे समयमै जाँच र उपचार गर्न सुझाएका छन् ।
यो स्वास्थ्य शिविर सम्पूर्ण वडावासीहरूको लागि एक उत्तम अवसर साबित हुने अपेक्षा गरिएको छ ।

















