
निजगढ,निजगढ नगरपालिकामा ६८ औं राष्ट्रिय सहकारी दिवस २०८१ बुधवार विविध कार्यक्रम सहित मनाइएको छ । सहकारी दिवसको अवसरमा प्रभातफेरि, अन्तरक्रिया र पुरस्कार वितरण गरिएको हो । ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नाराका साथ निजगढ नगरपालिका कार्यालयको आयोजनामा सहकारी दिवस मनाइएको हो । निजगढ नगरपालिकाको प्राङ्गणमा नगर उपप्रमुख, वडा अध्यक्षहरू, नगरपालिका क्षेत्रभित्र रहेका सहकारी संस्थाका पदाधिकारीहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू भेला भई प्रभातफेरि कार्यक्रम सम्पन्न गरिएको हो । निजगढ नगरपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरि निजगढस्थित पूर्वपश्चिम राजमार्गको बुद्धचोकबाट निजगढ ८ स्थित शुभकार्य बैंकुट सभाहलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो । नगर उपप्रमुख सोममाया थिङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा निजगढ नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद देवकोटा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, विभिन्न सहकारी संघ (संस्थाका प्रतिनिधिहरू, सहकारी सञ्जाल निजगढका अध्यक्ष भोलाप्रसाद गौतम, जिल्ला सहकारी संघका सल्लाहकार अजय लामा, निजगढस्थित सहकारी संस्थाका प्रमुख तथा प्रबन्धकहरू, सञ्चारकर्मीहरू तथा नगरपालिका कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा आयोजित ‘ग्रामिण अर्थतन्त्र विकासका लागि सहकारीको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिताका विजेताहरूलाई सम्मान गरिएको थियो। हिजो भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने सरिष्मा चौलागाईंलाई १० हजार, द्वितीय स्थान हासिल गर्ने सम्पदा खरेललाई ७ हजार र तृतीय स्थान हासिल गर्ने साहाना पौडेललाई ५ हजार रुपैयाँ नगद तथा प्रमाणपत्र प्रदान गरिएको हो । निजगढ नगरपालिकाद्वारा आयोजित कार्यक्रममा निजगढमा सूचना सम्प्रेषणमा महत्वपूर्ण योगदान पुर्याउने सञ्चारकर्मीहरूलाई मायाको चिनो प्रदान गरिएको थियो । यसैबीच राष्ट्रिय सहकारी दिवसको अवसरमा निजगढ ७ स्थित लोकप्रिय बचत तथा ऋण सहकारी सस्थाले निजगढ ६ को गौरीशंकर माध्यमिक विद्यालय सडकटोललाई आज साउण्ड सिष्टम सहयोग गरेको छ । विद्यालयमा भएको एक कार्यक्रममा सहकारी संस्था संचालक समितिका अध्यक्ष अम्बिका चौलागाई, व्यवस्थापक रोशन तिमल्सिना लगायतले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटा र प्रधानाध्यापक यादवकुमार तिमल्सिनालाई सो साउण्ड सिस्टम हस्तान्तरण गर्नुभएको थियो । सहकारीले विद्यालयमा पिटीलगायतको क्रियाकलापमा उपयोग गर्न सो साउण्ड सिस्टम सहयोग गरेको सहकारी संस्थाका अध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।