३ हप्ताको छोराको घाँटी थिची हत्या गर्ने, अन्सारी बारा प्रहरीद्वारा सार्वजनिक

                     
  नेपाल लेख   २०८० जेष्ठ २६, शुक्रबार ०९:२१

बारा,परपुरुषको गर्भ बोकेर बच्चा जन्माएको भन्दै आफ्नै नवजात शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका एकजनालाई बारा प्रहरीले बिहिवार सार्वजनिक गरेको छ । श्रीमतीले जन्माएको छोरा अरुको भन्दै घाँटी थिचेर हत्या गरेको कसुरमा पक्राउ परेका जिल्लाको देवताल गाँउपालिका–४ का वर्ष २४ का नुर आलम अंसारीलाई जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो । नुर आलमले २०७८ जेठ ५ गते बारा कलैया उपमहानगरपालिका ३ भवानीपुरटोलका नबिहसन अंसारीको छोरी कलमा खातुनसँग रितिरिवाज अनुसार विवाह गरेका थिए । खातुनले २०८० बैशाख २६ गते छोरा जन्माएकी थिईन । काठमाण्डौं बस्दै आएका अन्सारीले छोरा जन्मेको ८ दिनपछि घर आएर बैशाख १४ गते श्रीमती कोठाबाट बाहिर निस्केको मौका पारेर खाटमा सुताइएको शिशुको घाँटी थिचेर हत्या गरेका थिए । उपचारको लागि कलैया अस्पताल ल्याउने क्रममा शिशुको मृत्य भएको थियो । र धार्मिक परम्परा अनुसार गाउँ नजिकको कब्रस्तानमा छोराको सदगत गरेपछि अन्सारी भने काठमाडौंतर्फ लागेका थिए । काठमाण्डौं पुगेर अन्सारीले, ‘तेरो छोरा मरेको हैन, मैले नै घाँटी थिचेर मारेको हुँ, तँलाई पनि यसरी मारिदिन्छु’ भनेर खातुनलाई फोनबाट बारम्बार धम्की दिन थालेपछि घटनाको यथार्थ उजागर भएको हो । श्रीमतीले फोन रेकर्ड सहित उजुरी दिएपछि खोजबिनको क्रममा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौको सहयोगमा अन्सारी मंगलवार काठमाण्डौंबाट पक्राउ परेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलवार राति काठमाडौँको चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको थियो । थप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुधवार नै जिल्ला प्रहरी कार्यालय बारामा ल्याइएको थियो । अंसारीउपर कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धानको लागि जिल्ला अदालत बाराबाट अदालतबाट ७ दिनको म्याद थप गरिएको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?