
विपिन अधिकारी, लामो समयदेखिको खडेरीका कारण खेतमा लगाएको बाली सुकेर नष्ट हुन थालेपछि निजगढ नगरपालिकाका किसानहरु चिन्तित बनेका छन् । लामो समयसम्म वर्षा नभएर किसानले लगाएको बालीनाली सुकेर नष्ट हुन थालेपछि निजगढको सिंगौलका किसानमा चिन्ता बढेको हो । वर्षा नहुँदा स्थानीय कृषकले लगाएको मकै र केरावाली सुकेर नष्ट हुने अवस्थामा पुगेको निजगढ १ सिंगौलका किसान राम गुरो बताउनुहुन्छ । उहाँले सिँचाई अभावमा किसानले बर्षेधानको बिउ राख्न समेत नपाएको र किसानमा चिन्ता बढ्न थालेको पनि सुनाउनुभएको छ । गुरोका अनुसार सिंगौलका किसानले सिँचाईको लागि प्रयोग गर्दै आएको धन्सार र बगर खोलामा समेत पानी घटेको र मकै र चैतेधान खेतीमा सिँचाई गर्न नपाएपछि हुर्कदै गरेको बाली सुकेर किसानहरुमा चिन्ता बढेको छ । सिंगौलमा धनसार खोला र बगर खोलाको सतह सिँचाई बाहेक अन्य वैकल्पिक उपाय नहुँदा र किसानले सिँचाई असुविधा बेहोर्दै आएका छन् । खडेरीकै कारण सिंगौलमा रहेका खानेपानीका अधिकांस डिपबोरिङमा समेत पानी कम आउन थालेको र स्थानीयलाई पिउने पानीको समेत अभाव सृजना भएको उपभोक्ताहरुले गुनासो गरेका छन् ।