बारा,बाराको निजगढ वडा नं. ९ मा स्थित रहेको एकमात्र प्राथमिक स्वास्थ्य चौकीमा विगत ६ महिनादेखि भिडियो एक्स–रे सेवा पूर्ण रूपमा बन्द हुँदा स्थानीय नागरिक गम्भीर समस्यामा परेका छन्। दशैंअघि नै बिग्रिएको मेसिन हालसम्म मर्मत वा प्रतिस्थापन हुन नसक्दा स्वास्थ्य सेवामा चरम अव्यवस्था देखिएको हो।
दिनहुँ जसो बिरामीहरू उपचारका लागि स्वास्थ्य चौकी पुग्ने गरेका छन्। तर चिकित्सकले भिडियो एक्स–रे आवश्यक रहेको बताए पनि मेसिन नै नचल्ने अवस्थामा हुँदा बिरामीहरू बाध्य भएर निजी क्लिनिक वा अन्य सहरतर्फ जानुपर्ने अवस्था बनेको छ। यसले उनीहरूलाई आर्थिक रूपमा थप बोझ परेको गुनासो बढ्दो छ।
प्राथमिक स्वास्थ्य चौकीका प्रमुख डा. दिपेन्द्र प्रसाद यादवका अनुसार मेसिन प्राविधिक रूपमा बिग्रिएको हो। मर्मतका लागि करिब ९ लाख रुपैयाँ लाग्ने अनुमान गरिएपछि मर्मतभन्दा नयाँ मेसिन खरिद गर्ने प्रस्ताव अघि सारिएको उनले बताए। यसका लागि ३ महिना अगाडि नै नगरपालिकालाई पत्राचार गरिएको र पुनः थप समय दिइए पनि अहिलेसम्म कुनै ठोस पहल नभएको उनको भनाइ छ।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गर्ने नगरपालिकाको व्यवहार भने विपरीत देखिएको छ। आधारभूत स्वास्थ्य सेवामा पर्ने यस्ता अत्यावश्यक उपकरणमा ढिलाइ हुँदा नगरबासीको स्वास्थ्यमा प्रत्यक्ष असर परेको छ।
यता, उपप्रमुख सोममाया थिंगले भने सबै प्रक्रिया पूरा भइसकेको र केही दिनभित्रै नयाँ भिडियो एक्स–रे मेसिन आइपुग्ने दाबी गरेकी छन्। तर, लामो समयदेखि सेवाबाट वञ्चित नागरिकका लागि यो आश्वासन मात्रै बन्ने कि व्यवहारमा कार्यान्वयन हुने भन्ने प्रश्न यथावत छ।
















