बारा, १८ चैत — बाराको निजगढ नगरपालिका–९ पश्चिम लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
बुधवार दिउँसो करिब १२ बजे सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२–०४२ प ९८२४ नम्बरको मोटरसाइकल र पथलैयाबाट निजगढतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०३००४ प ३६६१ नम्बरको एफजेड मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा सर्लाही लालबन्दी नगरपालिका–७ बस्ने २२ वर्षीय बैभव ढुङ्गानाको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि एलएस न्युरो अस्पताल बारा पठाइएकोमा दिउँसो १२ ः४४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
त्यसैगरी अर्का मोटरसाइकल चालक बारा निजगढ नगरपालिका–६ ध्यालटोल बस्ने २३ वर्षीय सुरेश श्रेष्ठ पनि गम्भीर घाइते भएका थिए । उनलाई प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल कलैया पठाइएकोमा दिउँसो १ः१५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल ईलाका प्रहरी कार्यालय निजगढ बाराको नियन्त्रणमा रहेको प्रहरी निरिक्षण जिवन लामिछानेले जानकारी दिनुभयो । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
















