निजगढ, आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगबाट स्वीकृत “मतदाता शिक्षा विशेष कार्यक्रम” अन्तर्गत निजगढ नगरपालिकामा मतदाता शिक्षा स्वयंसेवकहरूको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
नगरपालिकाका योजना अधिकृत तथा निर्वाचन सम्पर्क व्यक्ति श्री जीवन गौतमको अध्यक्षतामा शुक्रवार नगर कार्यपालिकाको कार्यालय, निजगढको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा वडा नं.१ देखि १३ सम्मका मतदाता शिक्षा स्वयंसेवकहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी स्वयंसेवकहरूलाई निर्वाचन प्रक्रियामा मतदाताको भूमिकाबारे सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो । निर्वाचनलाई सहज, निष्पक्ष र प्रभावकारी बनाउन मतदाता शिक्षाको भूमिकामा जोड दिइएको थियो ।
नगरपालिकाले जनाएको अनुसार स्वयंसेवकहरूले फागुन ३ गतेदेखि फागुन १७ गतेसम्म आ–आफ्ना वडामा घरदैलो तथा सामुदायिक स्तरमा मतदाता शिक्षा सम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्नेछन् ।
निजगढ नगरपालिकाले सम्पूर्ण नगरबासीलाई आगामी निर्वाचनमा सचेत र जिम्मेवार मतदाता बन्न अनुरोध गर्दै सो कार्यको सफलताका लागि सहयोग गर्न समेत आग्रह गरेको छ ।
















