निजगढमा ट्रकको ठक्करबाट युवक गम्भीर घाइते, चालक–सहचालक प्रहरी नियन्त्रणमा

                     
  नेपाल लेख   २०८२ माघ ९, शुक्रबार २२:२७

निजगढ, बाराको निजगढ नगरपालिका–९ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत भमरापुल नजिक ट्रकको ठक्करबाट एक युवक गम्भीर घाइते भएका छन् ।

हिजोे राति करिब १ः४५ बजे ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको मोबाइल गस्ती टोलीले सडकबाट करिब १५–२० फिट तल कच्ची बाटोमा युवकलाई घाइते अवस्थामा फेला पारेको थियो । घाइते पर्सा जिल्लाको जिराभवानी गाउँपालिका–१ गमहरिया बस्ने धिरा धामीको छोरा करिब २० वर्षका मुकेश धामी भएको खुलेको छ ।

घाइतेको दुवै खुट्टामा गम्भीर चोट लागेको र प्रारम्भिक अवस्थामा हल्का मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिएको प्रहरी निरिक्षक जिबन लामिछानेले जानकारी दिनुभयो । उद्धारपछि उनलाई प्रादेशिक अस्पताल कलैया लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज हुँदै ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको छ । हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गर्दा ना ८ ख ३९८५ नम्बरको ट्रक दुर्घटनामा संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त ट्रकका चालक सर्लाही मलंगवा–४ बस्ने ३० वर्षीय प्रमोद पण्डित कुमार र सहचालक बसवरिया गाउँपालिका–३ बस्ने १९ वर्षीय राम छबिलाल साहलाई इलाका प्रहरी कार्यालय निजगढमा झिकाई थप अनुसन्धान भइरहेको छ । प्रहरीले दुर्घटनाको विस्तृत कारण र अन्य पक्षबारे अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?