ओलीको किल्लामा बालेन र सर्जु श्रेष्ठको सम्भावित प्रवेशले चुलिँदै चुनावी तापक्रम

                     
  नेपाल लेख   २०८२ माघ ३, शनिबार १३:४०

देशैभर चुनावी सरगर्मी बढ्दै जाँदा झापा जिल्ला फेरि एकपटक राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा तानिएको छ। सधैं ठूला राजनीतिक प्रयोग र अप्रत्याशित परिणामका लागि चिनिँदै आएको झापामा यसपटक देखिन थालेको नयाँ राजनीतिक समीकरणले सत्ता–राजनीतिमा तरंग ल्याउने संकेत देखिएको छ।

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक किल्ला मानिने झापा–५ मा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सम्भावित उम्मेदवारीको चर्चा चलिरहेकै बेला, अर्काे चकित पार्ने नाम पनि सतहमा आएको छ। बालेन शाहसँग इन्जिनियरिङ कलेज पढ्दाका पुराना मित्र तथा राप्रपाका प्रभावशाली युवा नेता सर्जु श्रेष्ठ पनि यही निर्वाचन क्षेत्रबाट चुनावी मैदानमा उत्रने तयारीमा रहेको चर्चा तीव्र बनेको छ।

सर्जु यसअघि शाहलाई काठमाडौं महानगरको मेयर जिताउन पर्दा पछाडिबाट महत्वपूर्ण भूमिका खेलेका व्यक्ति मानिन्छन। तर अहिले भने उनी बालेन जस्तो अनप्रिडिक्टेबल पात्र देशको प्रधानमन्त्री बन्नु राष्ट्रकै लागि दुर्भाग्य हुने निष्कर्षमा पुगेको र त्यसैकारण स्वयं प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उत्रन चाहेको बताइन्छ। नजिकका स्रोतहरूका अनुसार श्रेष्ठले यो चुनावलाई व्यक्तिगत मित्रताको विषयभन्दा पनि राष्ट्रको भविष्यसँग जोडिएको वैचारिक र राजनीतिक लडाइँका रूपमा लिएका छन।

झापा–५ मा राप्रपाको सांगठनिक अवस्था पछिल्ला वर्षहरूमा उल्लेखनीय रूपमा मजबुत बन्दै गएको छ। स्थानीय तहदेखि वडा स्तरसम्मको सक्रिय संगठन, राजसंस्थाप्रतिको सहानुभूति र परम्परागत दलहरूप्रति असन्तुष्ट मतदाताको मनोविज्ञानले राप्रपालाई यहाँ निर्णायक खेलाडी बनाउने आँकलन भइरहेको छ। यही पृष्ठभूमिमा सर्जु श्रेष्ठको सम्भावित उम्मेदवारीलाई हल्का रूपमा लिन नहुने संकेत देखिएको छ।

एकातिर केपी शर्मा ओलीको राजनीतिक विरासत जोगाउने एमालेको चुनौती, अर्काेतिर वैकल्पिक राजनीतिका नाममा उदाएका बालेन शाहको सम्भावित सिधा टक्कर र त्यसमाथि बालेनकै पुराना मित्र तर वैचारिक रूपमा पूर्णतः विपरीत धारमा उभिएका सर्जु श्रेष्ठको प्रवेश झापा–५ को चुनाव अब सामान्य प्रतिस्पर्धा रहेन। यो लडाइँ व्यक्तित्व, विचारधारा र मुलुकको भावी दिशाबीचको टकरावका रूपमा विकास हुँदै गएको देखिन्छ।

यद्यपि यी सबै चर्चा औपचारिक उम्मेदवारी घोषणाअघि नै सार्वजनिक भइरहेका छन। तर झापाको राजनीतिक इतिहासले देखाएको एउटा यथार्थ के हो भने यहाँ उठेका हल्ला र अनुमानहरू प्रायः अन्तिम नतिजासम्म पुगेर मात्र विश्राम लिन्छन। त्यसैले झापा–५ को यो नयाँ राजनीतिक मोडले नेपाली राजनीतिलाई कुन दिशातर्फ र्डोयाउने हो, त्यसको अन्तिम फैसला अब समय र मतदाताकै हातमा रहनेछ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?