निजगढ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, निजगढ शाखाको आयोजनामा निजगढमा महिलाहरुका लागि सञ्चालन गरिएको केराका परिकार तयार गर्ने तीनदिने सीपमूलक तालिम आज सम्पन्न भएको छ।
निजगढ नगरपालिका–९ स्थित गौरीशंकर क्याम्पसको हलमा सम्पन्न तालिममा लघुवित्त संस्थामा आबद्ध ३० जना महिला सदस्यहरुको सहभागिता रहेको थियो।
तालिमका क्रममा प्रशिक्षक भरत घिमिरेले केराको मम, फ्रेन्च फ्राइज, अचार, चिप्सलगायत विभिन्न परिकार तयार गर्ने व्यवहारिक सीप प्रदान गर्नुभएको थियो। तालिमलाई उपयोगी र व्यवहारमा आधारित रहेको बताउँदै सहभागी महिलाहरुले यसले आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्। प्रशिक्षक घिमिरेले पनि महिलाहरुको सक्रिय सहभागिता र रुचि प्रशंसनीय रहेको बताउनुभयो।
छिमेक लघुवित्त निजगढ शाखा प्रमुख रामरतन बछारले निजगढ नगरपालिका क्षेत्रमा केराको खेती व्यापक भए पनि त्यसको उचित उपयोग र मूल्य अभिवृद्धि गर्ने सीपको अभावमा किसानहरुले अपेक्षित फाइदा लिन नसकिरहेको अवस्थामा यस्ता तालिमले स्थानीयलाई उद्यमशीलतर्फ उन्मुख गराउने बताउनुभयो।
महिलाहरुलाई समूहमा आबद्ध गराई बचत संकलन र लगानीमार्फत आर्थिक सशक्तीकरण गर्दै आएको छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीपमूलक तालिम, सुत्केरी भत्ता वितरण, सर्पदंशका बिरामीको उपचार खर्च सहयोग तथा दैविक प्रकोपमा परेका सदस्यहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ।
















