निजगढ,निजगढ नगरपालिकामा घुस र लेनदेनको आरोपले तरंग मच्चिएको छ । नगरपालिकाकी कार्यपालिका सदस्य शर्मिला सुनुवारले सामाजिक सञ्जाल फेसबुकमार्फत ठेक्का र भुक्तानी प्रक्रियामा घुस लिइएको गम्भीर आरोपसहित कडा चेतावनी दिएकी छन् ।
नगरपालिकाद्वारा समिति तथा ठेक्का प्रणालीमार्फत गरिएका कामको भुक्तानी लिन निर्माण व्यवसायीहरूसँग मोटो रकम असुलिएको खबर प्राप्त भएको भन्दै, यदि सो सत्य हो भने तत्काल अवैध रकम फिर्ता गर्नुपर्ने उनको माग छ ।
सुनुवारले चेतावनी दिँदै भनेकी छन्—
यदि पटक–पटक सचेत गराउँदा पनि सेवाग्राहीलाई हेप्ने, घुस खाने र रकम असुल्ने कार्य रोकिएन भने सम्बन्धित व्यक्तिहरूको अडियो र फोटोसहित सार्वजनिक गरिनेछ ।
उनले थप स्पष्ट पारेकी छन् कि सरकारले काम गरेबापत दिएको पारिश्रमिक बाहेक कुनै पनि अतिरिक्त रकम अपेक्षा गर्नु अपराध हो ।
“घुस लिनु र दिनु दुवै सामाजिक अपराध हुन्, र दुवै पक्षलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ,” भन्दै उनले सबै कार्यालयमा घुसरहित सेवा प्रवाहको आह्वान गरेकी छन् ।
कार्यपालिका सदस्यको यो कडा अभिव्यक्तिपछि निजगढ नगरपालिकाभित्र घुस र भ्रष्टाचारबारे गम्भीर प्रश्न उठेको छ, साथै सम्बन्धित निकायले अब के कदम चाल्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ ।
















