निजगढमा राप्रपाद्धारा पृथ्वीजयन्तीको अवसरमा सभा, जेनजी युवाको मोटरसाइकल र्याली

                     
  नेपाल लेख   २०८२ पुष २८, सोमबार २२:२२

निजगढ,राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हिजो निजगढमा विशेष सभा आयोजना गरेको छ ।

निजगढ–७ स्थित शहिद चोकमा सम्पन्न कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य विनोद भारती प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । सभामा पार्टीका पूर्व केन्द्रीय सदस्य सावित्री भारती, शेषा सापकोटा, बासुदेव तिमल्सिना तथा निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक रामकुमार शर्मा दहाललगायत वक्ताहरूले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदान, राष्ट्रिय एकता र सार्वभौमिकताका विषयमा धारणा राख्नुभएको थियो ।

कार्यक्रम राप्रपा निजगढका नगर अध्यक्ष केशव राउतको अध्यक्षतामा सम्पन्न भएको थियो । नगर सचिव राजेन्द्र सापकोटाले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सुजन तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रमबारे जानकारी राप्रपा निजगढका पूर्व नगर अध्यक्ष खडगप्रसाद उप्रेतीले दिनुभएको हो ।

आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता महाराजाधिराज पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्दै प्रत्येक वर्ष पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाइँदै आएको छ ।

यसै अवसरमा जेनजी युवाहरूले पनि पृथ्वीजयन्तीलाई लक्षित गर्दै निजगढमा मोटरसाइकल र्याली निकालेका छन् । युवाहरूले राष्ट्रिय झण्डासहित निजगढस्थित पूर्व–पश्चिम राजमार्ग हुँदै मोटरसाइकल र्याली निकालेर राष्ट्रिय एकता र देशप्रेमको सन्देश प्रवाह गरेका थिए ।

प्रतिक्रिया


लोकप्रिय छुटाउनुभयो कि ?